समाज

भारतबाट ४ वर्षीया बालिकासहित ४ जनाको उद्धार

By admin

November 20, 2021

झापा । भारतबाट ४ बालबालिकाको उद्धार गरी काँकडभिट्टा नाकाबाट नेपाल फर्काइएको छ।

 

भारतको पश्चिम बंगालका विभिन्न जिल्लाबाट उद्धार गरी घर फर्काइएका ४ बालबालिकालाई शुक्रबार आफन्तजनलाई जिम्मा लगाइएको छ। उद्धार गरिएकामा उदयपुर, काठमाडौं, मोरङ र सिन्धुली जिल्लाका २ बालक र २ बालिका छन्।

 

३ जनाको उमेर १६ वर्ष र एक जनाको ४ वर्षका छन्। नेपाली महावाणिज्य दूतावास कोलकाताका महावाणिज्यदूत ईश्वरराज पौडेलको नेतृत्वमा आएको टोलीले इलाका प्रहरी कार्यालय काँकडभिट्टामा उद्धार गरिएका बालबालिकालाई उनीहरुका मामा र बुवालाई जिम्मा लगाएका थिए ।

 

गैरसरकारी संस्था शहीद वन्दना बालिका स्मृति आवास कुचविहार, इडिथ चिल्ड्रेन होम र सिनी नर्थ बंगाल सिलीगुडीले पश्चिम बङ्गालको कुचविहार, सिलीगुडी दार्जिलिङलगायत ठाउँबाट ती बालबालिकाको उद्धार गरी नेपाली महावाणिज्य दूतावास कोलकातालाई जिम्मा लगाएका हुन्।

 

नेपाली बालबालिका र महिलाहरूलाई अनेक प्रलोभन तथा झुक्याएर भारत लगेर बेचबिखन गरिन्छ। भारतमा लगेर उनीहरूको श्रम तथा यौन शोषण हुने गरेको तथ्य प्रकाशमा आइसकेको छ।

 

त्यस्ता बालबालिका र महिलालाई भारत सरकार, स्थानीय प्रहरी तथा अन्य सङ्घसंस्थासँगको समन्वयमा उद्धार गरी नेपाल फर्काइरहेको महावाणिज्यदूत पौडेलले जानकारी दिए।