खेलकुद

पुलिसको पहिलो जितमा सुमनको निर्णायक गोल

By admin

November 28, 2021

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो । पुलिसलाई जित दिलाउन सुमन लामाले निर्णायक गोल गरे । तर, जावलाखेलविरुद्ध जित निकाल्न पुलिसलाई दोस्रो हाफसम्म कुर्नु परेको थियो ।

 

रोमान्चक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको तेस्रो मिनेटमा जावलाखेलका ओन्गुना जुनियर गोलको अवसर गुमाए । पेनाल्टी क्षेत्र भित्रबाट गोलकिपर मात्र रहेको अवस्थामा उनले बाहिर प्रहार गरे ।

 

जावलाखेलका आमिर श्रेष्ठले दशौँ मिनेटमा गोलको अवसर गुमाए । पुलिसका डिफेन्डरको गल्तिमा पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट उनको प्रहारले पोस्टको दिशा लिन सकेन । खेलको १६ औं मिनेटमा जावलाखेलका ओन्गुना जुनियरले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट पोस्ट भन्दा बाहिर प्रहार गरे ।

 

पुलिसका तेज तामाङले ४० औं मिनेटमा रबि पासवानको क्रसमा पेनाल्टी क्षेत्रबाट प्रहार गरेको बल जावलाखेलका गोलकिपर टेकेन्द्र सिंह थापाले उत्कृष्ट बचाए । खेलको ४६ औं मिनेटमा जावलाखेलका जुनियरको पासमा रुप बहादुर लामाले गोलको अवसर खेर फाले । अनमार्क रहेका उनले बल प्रहार गर्न नसक्दा पुलिसका डिफेन्डरले बल क्लियर गरे ।

 

पुलिसका मान बहादुर परियारको फ्रिकिकमा रबि पासवानले ६५ औं मिनेटमा प्रहार गरेको हेडर बल पोस्टमा लागेर बाहिरिएको थियो । लगत्तै ६७ औं मिनेटमा जावलाखेलका सन्त बहादुर गुरुङको प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो ।

 

 

तर, ७० औं मिनेटमा पुलिसले अग्रता बनायो । पुलिसका परिवर्तित खेलाडी सुमन लामाले रबि पासवानको पासमा उत्कृष्ट गोल गरे । जुन गोल खेलको निर्णायक गोल बन्यो ।

 

खेलको ८९ औं मिनेटमा पुलिसका भरत शाहको प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्रले मुश्किलले बचाए । खेलको इन्जुरी समयमा जावलाखेलका रुप बहादुर लामाले सिक्स यार्ड भुत्रबाट प्रहार गरेको बल पुलिसका गोलकिपर शत्रुघन चौधरीले उत्कृष्ट बचाउ गरे ।

 

यस जितसँगै पुलिसले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा पुलिसले डर्बी क्लब त्रिभुवन आर्मीसँग १-१ गोलको बराबरी खेलेको थियो ।

 

जावलाखेलको यो लगातार दोस्रो हार हो । जावलाखेल पहिलो खेलमा मनाङ मर्स्याङ्दीसँग १-० ले पराजित भएको थियो । खेलको म्यान अफ दि म्याच पुलिसका रबि पासवान चुनिए । खेलपाटीबाट