बिर्तामोड । झापाको बिर्तामोड रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालमा अब ब्लड क्यान्सरसँगै बच्चामा हुने क्यान्सर रोगको उपचार हुने भएको छ ।
अस्पतालमा २ महिनाअघि डा. ऋतु लामिछाने जोडिएसँगै बच्चा र ब्लड क्यान्सरको उपचार सुरु भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्यान्सर अस्पतालले बच्चाको क्यान्सरको समेत उपचार थालनी गरेको छ । डा लामिछानेले अब १८ वर्षसम्मका बालबालिकाको क्यान्सर उपचारका लागि बाहिर जानु नपर्ने जानकारी दिइन् । रतगको क्यान्सर समेत यहि उपचार गर्ने डा लामिछानेले बताइन् । उनले भनिन्, ‘नेपाली बालबालिकाले नेपाल मै उपचार गर्न पाउने गरि पूर्वाञ्चल क्यान्सर अस्पतालले सेवा थालेको छ ।’
बच्चामा हुने क्यान्सर रोगको उपचार गर्न काठमाडौँ लैजानुपर्ने बाध्यता अब हटेको उनको भनाइ थियो । त्यस्तै, ब्लड क्यान्सरको उपचार पनि बिर्तामोडमै सम्भव भएकाले पीडितका परिवारले बाहिर लगेर महँगोमा उपचार गर्न नपर्ने पनि दाबी गरिन् ।
यसैबीच, पूर्वाञ्चल क्यान्सर अस्पतालले गत भदौं महिनादेखि महिलाको पाठेघरको मुखको निशुल्क जाँच गरिरहेको कार्यलाई निरन्तरता दिने भएको छ । भदौदेखि अहिलेसम्म अस्पतालले १७ हजार ८४२ जनाको जाँच गरेको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।
अस्पतालले महिलाको पाठेघरमा क्यान्सर भए नभएको पत्ता लगाउन पाठेघरको निःशुल्क परीक्षण गर्दै आएको छ । यस कार्यक्रमलाई थप गर्दै देशभरका महिलालाई सेवा प्रदान गर्ने कार्यकारी निर्देशक दुर्गा प्रसाईले जानकारी दिए । उनले क्यान्सरको दोस्रो स्टेप पुगेपछि मात्रै उपचारमा आउने भएकाले बेलैमा जाँच गर्ने व्यवस्था मिलाइएको बताए ।
प्रसाईका अनुसार क्यान्सर भए बेलैमा उपचार गर्ने र नभए स्वास्थ्य जीवनका लागि ख्याल गर्ने सल्लाह दिने गरिएको छ । कार्यकारी निर्देशक प्रसाईले आगामी तीन महिना सो कार्यक्रमलाई निरन्तरता दिँदै स्तनको मेमोग्राममा २५ प्रतिशत छुटको व्यवस्था मिलाइएको जानकारी दिए ।
अस्पतालमा कार्यरत डा प्रियंका कटुवालले परीक्षणका क्रममा महिलाको पाठेघरमा पानीको जाँचसँगै पाठेघरको मुख, बच्चा बस्ने ठाउँ, पाइप, अण्डाशय, सानो–ठुलो गालामा समेत जाँच गरिने जानकारी दिइन् ।
क्यान्सर रोगको उपचार गर्न आउनेहरु समय बितेपछि मात्रै आउने गरेको उनको अनुभव छ । क्यान्सर लागेको शंका भएपछि बाहिरै उपचार गर्ने, अपरेशन गर्ने र बिग्रिएपछि मात्रै अस्पताल आउने गरेको उनले सुनाइन् ।
३० प्रतिशत बिरामीमात्रै समयमै आउने र बाँकी ७० प्रतिशत बिरामी घाउ बल्झिसकेपछि, दोस्रो स्टेप पुगेपछि आउने गरेको बताइन् । उनले शंका लाग्ने वित्तिकै उपचारका लागि क्यान्सर अस्पताल नै आउन आग्रह समेत गरेकी छन् ।