समाज

अरुण तेस्रो आयोजनामा कार्यरत मजदुरको मृत्यु

By admin

December 03, 2021

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनामा कार्यरत एक मजदुरको मृत्यु भएको छ ।

 

चिचिला गाउँपालिका ३ सोलाखानीस्थित अडिट ३ मा कार्यरत भारतको मध्यप्रदेशका ४५ वर्षीय मुगेरीलाल सिंहको मृत्यु भएको प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

 

गएराति सुरुङभित्र काम गर्ने क्रममा ढुंगाले लागेर भारतीय मजदुर सिंह घाइते भएका थिए । उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । घटनाबारे वास्तविकता पत्ता लगाउन प्रहरी घटनास्थलमा गएको प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले बताए ।

 

सुरुङभित्र काम गर्न जोखिम हुने गरे पनि आयोजनाले सुरक्षा सामग्री उपलब्ध नगराएको मजदुरको गुनासो छ । अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा अस्पताल नहुँदा मजदुरलाई समस्या भएको छ ।

 

हाल उक्त आयोजनामा नेपाली र भारतीय गरी झण्डै तीन हजार मजदुर कार्यरत छन् । काम गर्दा चोटपटक लागे वा बिरामी भए मजदुरलाई टाढाको अस्पताल लैजानुपर्ने बाध्यता छ । समय-समयमा स्वास्थ्य परीक्षण गर्नुपर्ने उनीहरुको माग छ ।