खेलकुद

आज फाक्तेप गोल्डकपको उपाधि भिडन्तमा धरान र काँकरभिट्टा

By admin

December 04, 2021

डुँडामारी (झापा) । एनी फाक्तेप गोल्डकपको उपाधि भिडन्तमा सुनसरीको धरान सिटी एफसी र काँकरभिट्टाको तुर्केनी युथ एफसी झापाले प्रतिस्पर्धा गर्दैछन् । फाइनल खेलको उद्घाटन प्रदेश १ सरकारका मुख्यमन्त्री राजेन्द्र राईले गर्ने निश्चित भइसकेको छ ।

 

यी दुवै टोलीले कम्तिमा नगद ५१ हजार सुरक्षित गरिसकेका छन् । पहिलो खेलमा इलामसँग २-० ले पछि परेको अवस्थालाई उल्टाउँदै टाइब्रेकरमा बाजी मारेको धरानले फाइनल यात्राका क्रममा पथरीसँग पनि १ ० गोलले पछि परेको थियो ।

 

तर, दोस्रो हाफसम्म २-१ गोलको नतिजा निकालेर धरानले फाइनलमा स्थान सुरक्षित गरेको हो । दुवै खेलमा कमब्याक गर्दै जित निकालेको धरानले काँकरभिट्टासँग कडा मिहेनत गर्नुपर्ने हुन्छ ।

 

सेमिफाइनलमा ३ जना अफ्रिकन खेलाडीसहित मैदान उत्रेको काँकरभिट्टाले चिरपरिचित जलथल एफसीलाई ६-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो । उसले पहिलोपटक आयोजकलाई २-१ गोलले पराजित गरेको थियो ।

 

प्रतियोगितामा झापा, मोरङ, सुनसरी, इलाम र सिन्धुलीका आठ टिमले प्रतिस्पर्धा गरेका छन् । फाक्तेप फुटबल क्बल झापाको आयोजनामा भएको प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार पाउने खेल संयोजक सन्तोष थेगिमले जानकारी दिए ।

 

खेलको म्यान अफ दी टुर्नामेन्ट र हाइ स्कोररले नगद ५ हजार, उत्कृष्ट फरवार्ड, उत्कृष्ट मिडफिल्ड, उत्कृष्ट किपर, उत्कृष्ट डिफेन्सले नगद ३ हजार रुपैयाँ पाउँदा प्रत्येक खेलको म्यान अफ दी म्याच बन्ने खेलाडीले नगद ३ हजार पाउँदै आएका छन् ।