फिदिम । रानीटार युनाइटेड क्लब पाँचथरको आयोजनामा पाँचथरमा पहिलोपटक प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको छ । आइतबार फिदिममा पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगिताबारे जानकारी दिएको हो ।
तमु ल्होसारको अवसरमा रानीटार युनाइटेड क्लबले प्रथम ल्होसार महिला गोल्डकप प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा प्रदेश १ का ८ टिमको सहभागिता रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा द सेभेन युथ क्लब धनकुटा, धरान युथ क्लब, कन्काई नगरपालिका झापा, कर्णसिं स्मृति क्लब ताप्लेजुङ, पथरी शनिश्चरे वुमेन्स एफसी मोरङ, जनता सेभेन क्लब ईलाम, आठराई गाउँपालिका तेह्रथुम र आयोजक रानीटार युनाइटेड क्लबको सहभागिता रहने पक्का भएको क्लबका अध्यक्ष टंक गुरूङले जानकारी दिए ।
प्रतियोगिता पुस १२ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने भएको छ । फिदिम ७ स्थित बराजु रङ्गशाला रानीटारमा सञ्चालन हुने प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले ३० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
सबैतिर पुरूष प्रतियोगितामात्र भइरहेको बेला महिला फुटबलको विकासको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक क्लबका अध्यक्ष गुरूङले जानकारी दिए ।