समाज

मेची राजमार्गको पहिरोले सास्ती, पन्छाउन ५१ लाख लाग्ने

By admin

December 05, 2021

ताप्लेजुङ । ताप्लेजुङबाट बिरामी बोकेर झापाको बिर्तामोड जाँदै गरेको ग्रामीण विकास मञ्चको एम्बुलेन्स मंसिर २ मा पाँचथरको हेवाखोला छेउमा डेढ घण्टा जाममा पर्‍यो ।

 

फुङलिङ नगरपालिका ९ का बिरामी लिएर गएको एम्बुलेन्सले साइरन त बजाइरह्यो तर न अगाडि बढ्न सक्यो, न पछाडि फर्कने अवस्था नै थियो ।

 

पाँचथरको फिदिम नगरपालिकाकी एक महिलाको मलामी आएकाले मोटरसाइकल र गाडी सडकको दायाँबायाँ राखिदिएपछि जाम परेको थियो । सदरमुकाम फिदिमबाट आएको ट्राफिक प्रहरीलाई सडक खुलाउन हम्मेहम्मे पर्‍यो ।

 

पूर्वको ताप्लेजुङदेखि पाँचथर सदरमुकाम फिदिम, इलाम हुँदै झापा जोड्ने उक्त सडक यसरी जाम भएको यो पहिलो पटक भने होइन । हेवाखोलाका बासिन्दाका अनुसार जाम भइरहन्छ तर कहिले छिटो खुल्छ, कहिले घण्टौं लाग्छ । एम्बुलेन्सलाई समेत पार पाउन गाह्रो पर्छ ।

 

यस्तो समस्या पाँचथरको हेवाखोलादेखि इलामसम्मै छ । जहाँ सडकको अधिकांश भाग एकतर्फी मात्रै छ । कात्तिक पहिलो साताको वर्षाका कारण झरेको पहिरो सडक विभागले अझै पन्छाइसकेको छैन । न त बगेको ठाउँमा पर्खाल लगाएर उठाउने काम सुरु भएको छ । ट्राफिक प्रहरी कार्यालय पाँचथरका प्रमुख दीपक दुलाल कहिलेकाहीं अवरोध हुने गरेको बताउँछन् ।

 

झापाबाट पाथीभरा मन्दिर जान हिँडेकाहरूले होटल बुक गर्ने तर बेलुका आउन सकेनौं भनेर फोन आउने गरेको पाथीभरा होटल एन्ड ताप्लेजुङ लजका सञ्चालक नन्दु बानियाँ बताउँछन् । ‘चारआलीबाट उकालो लाग्यौं भनेर कोठा बुक गर्छन्, कोठा राख्यो राति अबेरसम्म पनि आउन सक्दैनन्,’ बानियाँले भने ।

 

मेची राजमार्गको जिम्मा लिएको सडक डिभिजन कार्यालय इलामले भने दुई साताभित्रमा दुईतर्फी बाटो चल्ने दाबी गरेको छ । डिभिजन प्रमुख श्यामकुमार यादवले भने, ‘इलामतर्फको भाग पन्छाइसक्न लाग्यौं, अब पाँचथरको पनि लगातार काम भइरहेको छ ।’ यादवले दुईतर्फी बाटो सफा गर्ने काम भइरहेको बताए ।

 

पहिरो पन्छाउन मात्रै ५१ लाख रुपैयाँ खर्च हुने अनुमान कार्यालयको छ । कात्तिक पहिलो साताको वर्षा, बाढी र पहिरोले पाँचथर र इलाम खण्डमा धेरै क्षति पुर्‍याएको छ । इकान्तिपुरबाट