बिर्तामोड । झापाको अर्जुनधारा नगरपालिकामा ७ करोडको लगानीमा सोमबारदेखि एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज सञ्चालनमा आएको छ ।
अर्जुनधारा ८ मा रहेको एभरेष्ट लार्ज कार्डमम इन्डस्ट्रिज प्रालिले संचालनमा ल्याएको अलैंची प्रशोधन उद्योगको उद्योग बाणिज्य संघ प्रदेश १ अध्यक्ष टिकाराज ढकाल र अभिनेतृ स्वस्तिमा खड्काले संयुक्तरुपमा उदघाटन गरे । नायिका स्वस्तिमा खड्का ब्राण्ड एम्बेस्डर पनि हुन् ।
खोल्साको कालो सुन भनिने पहाडी जिल्लामा उत्पादन हुने नगदेबाली अलैंचीलाई प्रशोधन गरेर तयार पारिने मिजाज ब्राण्डको मिजाज माण्न्टेन पल्र्स, मिजाज अलैंची पाउडर, मिजाज अलैँची दाना र मिजाज अलैंची नामका चार वटा उत्पादनहरु सुरु भएको प्रालिका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए ।
माउन्टेन पल्र्स मिजाज माउन्टेन पल्र्स स्वादिष्ट चाँदी–लेपित उच्च कोटीका अलैची बीजलाई केसरको साथ मिसाएर तयार पारिएको छ । यो विशेषगरी माउथ फ्रेसनरको रुपमा प्रयोग हुन्छ भने यसले पाचनमा मद्दत र रक्त सञ्चारमा पनि सुधार ल्याउने अध्यक्ष भट्टराईले जानकारी दिए । उनका अनुसार मिजाज माउन्टेन पल्र्स ४०० र २०० ग्राममा उपलब्ध छन् ।
मिजाज अलैंची पाउडर एउटा मसला भएको र शाकाहारी र मांसाहारी परिकार साथै चिया, सर्वत र कक्टेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिने बताइएको छ । यो पाउडर २० र ५० ग्राममा उपलब्ध छ । मिजाज अलैंची दाना उच्चस्तरीय अलैंची दानालाई प्रशोधित गरी सर्वोत्तम गुणस्तर तयार पारिएको अध्यक्ष भट्टराईले बताए । यस दानालाई शाकाहारी र मांसाहारी परिकार, मिठाई तथा चिया, सर्वत र कक्टेल जस्ता पेय पदार्थमा प्रयोग गर्न सकिनेछ । यो दाना ५०० ग्राम र एक केजीको तौलमा उपलब्ध छ ।
त्यस्तै मिजाज अलैँची शाकाहारी र मांसाहारी परिकारमा मसलाको रुपमा र बिर्यानी, पुलाव, मासु तथा तरकारी जस्ता परिकारमा प्रयोग गरिने बताइएको छ । मिजाज अलैंची, १००, २००, ५०० ग्राम र एक केजीको प्याकेटमा उपलब्ध रहेको छ ।
नेपाली कच्चा अलैँचीलाई प्रशोधनसहित तेस्रो मुलुकसम्म निर्यात गर्ने उद्देश्य राखेर सुरु गरिएको उद्योगले विदेशी मुद्रा आर्जन गर्ने र नेपाली अर्थतन्त्रलाई माथि उठाउन सहयोग गर्नेमा आफूहरु आशावादी रहेको उद्योगका प्रबन्धक निर्देशक सञ्जिव घिमिरेले बताए ।
७ करोड रुपियाँको लगानीमा सुरु भएको उद्योगमा चार जनाले लगानी गरेका छन् । लगानीकर्ताहरुमा निर्मल भट्टराई, सञ्जिव घिमिरे, भरत चौधरी र रामकृष्ण विष्ट रहेका छन् । उनीहरुका अनुसार नेपाल, भारत, पाकिस्तान, बंगलादेश र अरब राज्यहरुमा एभरेष्ट लार्ज कार्डमम प्रालिको उत्पादनहरुको माग बढी रहेको छ ।