अर्थ बजार

पत्रकार न्यौपानेलाई निर्माण व्यवसायीको नगदसहित सम्मान

By admin

December 07, 2021

बिर्तामोड । निर्माण व्यवसायी संघ झापाले पत्रकार सन्तोष न्यौपानेलाई नगदसहित सम्मान गरेको छ । संघले एक जना पत्रकारसहित आठ जनालाई सम्मान गरेको हो ।

 

बिर्तामोडमा मंगलबार सुरु भएको संघको १४औं अधिवेशनको उद्घाटन सत्रमा एभी न्युज टिभीका झापा सम्वाददाता सन्तोष न्यौपानेलाई नगद १० हजारसहित सम्मान गरेको हो । पत्रकार न्यौपानेलाई विकास निर्माणको समाचार समप्रेषण तथा संघको गतिविधिमा पत्रकारिताको माध्यमबाट सहयोग गरेको भन्दै सम्मान गरेको जनाएको छ ।

 

त्यस्तै, अग्रज व्यवसायी छत्रप्रसाद अधिकारी, उपेन्द्रप्रसाद सिंह, धर्म खड्का, रामप्रसाद मैनाली, ज्येष्ठ सदस्य कृष्ण सिटौला, मरोणोपरान्त सम्मान दिपेन्द्र पोखरेल र साहित्य सिर्जना तुलसी भट्टराईलाई संघले सम्मान गरेको छ ।

 

संघका झापा अध्यक्ष मिलन बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे प्रमुख आतिथ्य रहेको थियो ।

 

संघका उपाध्यक्ष शरद खनालले स्वागत गरेको कार्यक्रमलाई महासचिव ओम पौडेलले सञ्चालन गरेका थिए । कार्यक्रममा भोलि हुने संघको निर्वाचनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ । नयाँ नेतृत्वका लागि तीन जना व्यवसायीले उम्मेद्वारीको तयारी गरेको बताइएको छ ।