अर्थ बजार

उकालो लाग्दै डलर भाउ, बुधबारको दर १२१.०१

By admin

December 08, 2021

काठमाडौँ । केही दिनयता अमेरिकी डलरको विनिमय दर निरन्तर बढ्दो क्रममा छ । विश्वबजारमा डलरको माग बढेसँगै त्यसको भाउ पनि बढ्न थालेको बताइएको छ ।

 

नेपालमा बुधबारका लागि राष्ट्र बैंकले एक अमेरिकी डलरको विनिमय दर (बिक्री दर) १ सय २१ रुपैयाँ ०१ पैसा तोकेको छ । यो गत असोज २७ यताकै उच्च हो । गत असोज २७ मा एक अमेरिकी डलरको विनिमय दर १ सय २१ रुपैयाँ १२ पैसा थियो । त्यसपछि डलरको भाउ केही घटेको थियो ।

 

गत कात्तिक २५ मा एक अमेरिकी डलरको भाउ १ सय १८ रुपैयाँ ७३ पैसा कायम भएको थियो । त्यसयता भने डलरको भाउ लगातार उकालो लागिरहेको छ । सोही क्रममा बुधबार एक अमेरिकी डलरको खरिद दर १ सय २० रुपैयाँ ४१ पैसा र बिक्री दर १ सय २१.०१ रुपैयाँ पुगेको हो ।

 

खासगरी कोभिडको पहिलो लहरपछि अमेरिकी अर्थतन्त्रमा अनपेक्षित रूपमा सुधार देखिएको त्यहाँको बृहत् अर्थशास्त्रसम्बन्धी तथ्यांकले देखाएका छन् । यही कारण विश्वबजारमा डलरको माग बढेको जानकारहरू बताउँछन् । विश्वबजारका कारणभन्दा पनि भारतीय मुद्रा कमजोर भएकाले नेपाली मुद्राको भाउ पनि अवमूल्यन भएको हो ।

 

नेरु र भारुबीच स्थिर विनिमय दर छ । यससँगै कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर रहेकाले पनि भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । अहिले भएको यही हो ।

 

पछिल्ला महिनामा भारतमा पनि आयात उच्च दरले बढेको छ । चालु खाता घाटा फराकिलो बन्दै गएको छ । अपेक्षित रूपमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्रिन सकेको छैन ।

 

मंगलबार एक अमेरिकी डलरको भारु ७५.४४ छ । एक साताअघि यस्तो दर भारु ७४.९७ थियो । पछिल्लो एक महिनामा डलरसँगको तुलनामा भारु निरन्तर कमजोर बन्दै गएको तथ्यांकहरूले देखाएका छन् । एक महिनाअघि (नोभेम्बर ८, २०२१) मा एक अमेरिकी डलरको विनिमय दर भारु ७३.९० पैसा थियो । कोभिड पहिलो र दोस्रो लहरबाट भारतीय अर्थतन्त्र पनि नकै प्रभावित बनेको छ ।

 

खुला सिमानाका कारण धेरै नेपालीको रोजगारीको गन्तव्य भारत बन्दै आएको छ । यसकारण नेपालको अर्थतन्त्र ठूलो मात्रामा भारतमा आश्रित छ । यस्तो अवस्थामा नेरु र भारुबीच स्थिर विनिमय दर रहेकाले भारु कमजोर हुँदा नेरु पनि कमजोर हुने गरेको हो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।