झापा । झापामा प्रतिबन्धित लागूऔषधको कारोबारलाई निस्तेज पार्ने अभियानलाई तिव्रता दिने क्रममा झापा प्रहरीले ब्राउनसुगरसहित फेरि तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा एक युवती पनि रहेकी छन् । बुधबार साँझ ६ः३० बजे बुद्धशान्ति ३ बेलचोकस्थित बाबा राईको घरमा डेरा गरी बस्ने दिपक तामाङलाई प्रहरी पक्राउ गरेको हो । तामाङले कोठाभित्र ब्राउनसुगरको कारोबार गरिरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले थप दुई जनालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तामाङको कोठा खानतलासी गर्दा संखुवासभा चैनपुर ११ बस्ने ३० वर्षीय दिपक तामाङ, सोही ठाउँका २८ वर्षीय रोशन तामाङ र पाँचथर फिदिम ४ बस्ने १९ वर्षीया संगीता तामाङलाई ४ ग्राम ३०० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको हो ।
उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय धुलाबारीमा ल्याई थप अनुसन्धान भईरहेको र झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाईने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।