बिर्तामोड । झापा जिल्ला अदालतले बिर्तामोडस्थित गाउँले होटलका सञ्चालक तिलक निरौलाको आत्महत्या दुरुत्साहन कै कारण भएको ठहर गरेको छ ।
पूर्पक्षका लागि थुनामा गएका हेटौडा उपमहानगर–५ घर भई झापा अर्जुनधारा ५ बस्दै आएका नारायण खड्कामाथि लागेको दुरुत्साहन मुद्धामा कसुर ठहर भएको झापा जिल्ला अदालतका शाखा अधिकृत नवराज पोखरेलले जानकारी दिए ।
०७७ चैत २२ गते मेचीनगर १३ स्थित चारआली जंगलमा निरौलाको शव फेला परेको थियो । होटल व्यवसायीको रहस्यमय मृत्यु भएपछि प्रहरीले अनुसन्धानका लागि दुई जनालाई तत्कालै नियन्त्रणमा लिएको थियो । सो घटनामा कसुर ठहरिएका खड्का र सिन्धुपाल्चोक घर भई अर्जुनधारा ५ बस्दै आएका भरत दंगालले अपहरणपछि हत्या गरेको आरोप लागेको थियो ।
जिल्ला अदालतले दंगाललाई सफाई दिएको अधिकृत पोखरेलले जानकारी दिए । दुवै जना निरौलाका व्यापारिक पार्टनर हुन् । कसुर ठहरिएका व्यक्ति सम्बन्धले भान्जा भएको बुझिएको छ ।
शाखा अधिकृत पोखरेलका अनुसार खड्काले आत्महत्या दुरुत्साहन गरेको कसुर ठहरिएको छ । मंसिर २९ गते कति सजाय हुने भन्ने फैसलाका लागि पेशी तोकिएको छ । त्यो दिनको फैसला नै अन्तिम हो, पोखरेलले भने, ‘त्यै दिन थाहा हुन्छ । कति सजाय हुने भन्ने कुरा ।’
प्रहरीले होटल सञ्चालक निरौलाको घटनाबारे सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो । अनुसन्धान प्रतिवेदनमा दुवै जनाले आत्महत्या दुरुत्साहन गरेको खुलाइएको थियो । घटना भएको २४ औं दिनमा प्रहरीले बुझाएको प्रतिवेदनमा अपहरणपछि हत्या भएको उल्लेख थिएन । प्रहरीले दुवै जनाले दुरुत्साहन गरेको भने पनि अदालतले एक जनालाई सफाई दिएको छ ।
निरौला २० गते दिउँसो घरबाट हिँडेका थिए । प्रहरीका अनुसार उनले बोकेको मोवाइल सोही दिन ४ बजेर ४७ मिनेटमा अफ भएको थियो । प्रहरीले निरौला मृत भेटिएको ठाउँमा किटनाषक औषधिको वोतल र दुई पेजमा लेखिएको सुसाइट नोट भेट्टाएको थियो । नोटमा १२ जनाभन्दा बढी व्यक्तिको नाम लेखिएको प्रहरीले प्रतिवेदनमा खुलाएका थिए ।
नोटमा नाम उल्लेख गरिएका व्यक्तिका कारण मृत्यु रोजेको भन्दै लेखिएको प्रहरीको भनाइ छ । प्रहरीले निरौला घरबाट हिँडेको दिन चारआली चोकबाट मोटरसाइकलमा पश्चिमतर्फ लागेको सीसी क्यामेरामा पत्ता लागेको थियो । उनीहरु बीचमा जग्गाको ठुलो कारोवार भएको बुझिएको छ ।