समाज

पत्रकार इन्द्रसिंह राजवंशी र कमन देवानलाई डिकमान पत्रकारिता पुरस्कार

By admin

December 12, 2021

झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) झापाले स्थापना गरेको स्व. डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कृष्ट पुरस्कारबाट दुई पत्रकार पुरस्कृत भएका छन् ।

 

फोनिज झापाको छैटौँ जिल्ला अधिवेशनका अवसरमा प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशी र हरप्रहर न्यूज अनलाइनका सम्पादक कमन देवान पुरस्कृत भएका हुन् ।

 

पुरस्कारको राशि जनही २५-२५ हजार रहेको छ । अधिवेशनमा गतवर्ष २०७७ का लागि राजवंशी र ०७८ का लागि देवानलाई फोनिजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष गजुरधन राई र अर्जुनधारा नगरपालिकाका नगर प्रमुख हरिकुमार रानाले सम्मान पत्रसहित नगद पुरस्कार प्रदान गरेका थिए ।

 

त्यस्तै गत वर्षको उदीयमान पत्रकारिता पुरस्कार रेडियो हिमशिखरकी कार्यक्रम प्रस्तोता मीना नेम्बाङ र सूर्योदय टेलिभिजनकी कार्यक्रम प्रस्तोता सुभला तामाङलाई प्रदान गरिएको छ । त्यस पुरस्कारको राशि जनही ५ हजार रहेको छ ।

 

त्यस्तै यसवर्षको उदीयमान पत्रकारिता पुरस्कार यलम्बर टाइम्सकी समाचार प्रमुख लीला राई र माङ्सेबुङ न्यूज डटकमका सम्पादक डिल्लीश्वर मुसाहाङ लिम्बूलाई प्रदान गरिएको छ । उनीहरुले ५-५ हजारको नगद राशि र सम्मान पत्र पाएका छन् ।

 

फोनिजका झापा अध्यक्ष बिशाल नेम्बाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि फोनिजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष राई, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख राना, प्रदेश १ का इन्चार्ज दिपीन राई, प्रेस युनियनका झापा अध्यक्ष इन्दु पूर्वेली, प्रेस चौतारीका प्रदीप परियार, प्रेस क्लब अर्जुनधाराका कुमार भट्टराईलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

 

जुकेखाडी सामुदायिक वन उपभोक्ता समूहका पर्यटन उपाध्यक्ष दिपक दुलालले कैदले वनसँग सम्बन्धित पर्यापर्यटनका विषयमा आफ्ना भनाइ राखेका थिए । शान्ति सामुदायिक वनका अध्यक्षा तुलसी खतिवडाले शुभकामना दिएका थिए ।

 

कार्यक्रममा डिकमान विरहीको जीवनीबारे पूर्व अध्यक्ष रमेश समदर्शी र पुरस्कृत व्यक्तित्वहरुको बारेमा सहसचिव भूमिका सुब्बाले प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन सचिव अमित खम्बूले गरेका थिए ।