काठमाडौँ । देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । सोमबार बिहान पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा छ ।
दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकीमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । ती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
मंगलबार लुम्बिनी, गण्डकी र बागमतीमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । मंगलबार राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
हिमपातको सम्भावनाका साथै देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसैबीच, काठमाण्डौको न्यूनतम तापक्रम आज पनि घटेको छ । बिहान ६ बजेको न्यूनतम तापक्रम आज ४ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको छ ।
न्यूनतम तापक्रम अझ घट्ने सम्भावना छ । बिहान पौने ९ बजेको मापनमा न्यूनतम तापक्रम अझै घट्न सक्ने अनुमान गरिएको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । उहाँकाअनुसार बिहान ६ बजे अघि भन्दा त्यस पछि चिसो धेरै हुन्छ ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियस थियो । यस्तै, आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव परेको छ। यसले गर्दा चिसो हावा चल्न थालेको छ भने आज पश्चिमी क्षेत्रका उच्च पहाडी तथा हिमाली जिल्लामा हल्का हिमपातको सम्भावना छ ।