खेलकुद

फिदिम नगर कपः आज उपाधि भिडन्तमा झापा र ताप्लेजुङ भिड्दै

By admin

December 18, 2021

रानीटार (पाँचथर) । रानीटारमा जारी तेस्रो फिदिम नगर कप फुटबल प्रतियोगिताको उपाधिको छिनोफानो आज हुँदैछ । बराजु रङशालामा उपाधि रक्षा गर्न झापाको रेड स्टार एफसी र ताप्लेजुङको कणर्सिं सोनाम मेमोरियल एफसीले प्रतिस्पर्धा गर्ने छन् ।

 

सेमिफाइनल खेलमा झापाको अल इन वान क्लब सैनिकलाई रोक्दै ताप्लेजुङको कणर्सिं सोनाम मेमोरियल एफसी तेस्रो फिदिम नगर कपको फाइनलमा प्रवेश गरेको हो । यस्तै, सेमिफाइनल खेलमा काठमाडौँको चर्च ब्वाइज युनाइटेडलाई २(१ गोलअन्तरले हराउँदै रेड स्टार झापा फाइनलमा प्रवेश गरेको हो ।

 

रेड स्टार झापाले प्रतियोगितामा तेस्रो पटक फाइनल यात्रा गरेको हो भने ताप्लेजुङ पहिलोपटक फाइनल प्रवेश गरेको हो । दुवै टोली इतिहास बनाउन चाहन्छन् । रेड स्टार झापा तेस्रो पटक पनि उपाधि जित्न चाहन्छ । यता ताप्लेजुङ पनि पहिलोपटक फाइनल यात्रासँगै उपाधि जितेर इतिहास रच्न चाहन्छ ।

 

दुवै टोलीमा खेलमैदान बुझेका खेलाडी भएकाले फाइनल खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । फाइनल खेल आज दिउँसो २ः३० बजे रानीटार स्थित बराजु रङशालामा हुनेछ । फाइनल खेलको विजेताले नगद १ लाख ५० हजार र ट्रफी पाउनेछ ।