खुदुनाबारी । झापाको बिर्तामोडमा रहेको बी एण्ड सी र पूर्वाञ्चल क्यान्सर अस्पतालले अर्जुनधारा नगरपालिकाका २०३ परिवारका लागि स्वास्थ्य बिमा उपलब्ध गराएको छ ।
तीन हजार पाँच सय तिरेपछि सरकारबाट एक लाखबराबरको स्वास्थ्य सेवा निशुल्क उपलब्ध हुने उक्त स्वास्थ्य बिमा अस्पतालको तर्फबाट कार्यकारी निर्देशक दुर्गा प्रसाईले गराइदिएका हुन् । सोमबार दिउँसो खुदुनाबारीको कैदले पर्यापर्यटन क्षेत्रमा आयोजित एक कार्यक्रममा अर्जुनधारा १ र २ नम्बर वडाका १ सय ३ जना सर्वसाधारणले बिमा विमित हुने अवसर प्राप्त गरे ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रतिनिधिमुलक रुपमा ६ जनालाई बिमा कार्ड वितरण गरेका थिए । जसमा मानबहादुर दर्जी, आइतमाया लिम्बू, देउबहादुर बराइली, रेश्मा केरुङ, मनमाया लिम्बू र रुद्र गजमेर छन् ।
आर्थिक अभावका कारण सिटामलसम्म किनेर खान नसक्ने अवस्थाका अति विपन्न परिवारलाई अस्पतालको सामाजिक उत्तरदायित्वअन्तरगत स्वास्थ्य बिमा गराइदिएको कार्यकारी निर्देशक प्रसाईको भनाइ थियो ।
सिटामोलको अभावमा कसैको ज्यान नजाओस् भनेर बिमा कार्यक्रम अघि सारिएको बताउँदै उनले स्वास्थ्य बिमाको कार्ड लिएर गरिब समुदायको व्यक्ति आउने नगरेको अनुभव सुनाए । लाखौँको गाडी चढेर स्वास्थ्य बिमाबाट उपचार गर्न आउनेको संख्या अधिक रहेको उनले सुनाए ।
उनले उपचार अभावमा कोही पनि मर्नु हुँदैन, पैसा नभएर रोगको उपचार गर्नबाट वञ्चित हुन नपरोस् भनेर अस्पतालको तर्फबाट विपन्नलाई बिमा कार्यक्रम ल्याइएको पनि जानकारी गराए ।
यसअघि अर्जुनधारा १ का १ सय परिवारको पनि बिमा गराइदिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए । उनका अनुसार छिमेकी जिल्ला इलामको माई नगरपालिकाको थाक्लेमा पनि दुई सय परिवार गरि हालसम्ममा ४ सय ३ जनाको विमा गरिएको छ ।
एक परिवारको ३५ सयका दरले हालसम्ममा १४ लाख १० हजार ५ सय रुपैयाँ बिमा कार्यक्रमअन्तर्गत विपन्न समुदायका लागि खर्च गरिएको गिरीले बताए ।
अभियान नेपालको सहजीकरणमा बिमा कार्ड वितरण गरिएको थियो । अभियानकै पहलमा बाँकी परिवारका लागि स्वास्थ्य बिमा गरिने अभियान नेपालका अध्यक्ष लोकमान श्रेष्ठले बताए ।
कार्यक्रममा संविधानसभा सदस्य प्रेम गिरीले स्वास्थ्य र शिक्षाको क्षेत्रमा उल्लेखनीय सेवा गरेको भन्दै अस्पतालले गरेको सामाजिक कार्यको प्रशंसा गरेका थिए ।
सोही अवसरमा कार्यकारी निर्देशक प्रसाईंले स्थानीय शिवालय मन्दिरका लागि शिव र दुर्गाको मूर्ति उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । आउने चैते दसैँको अवसरमा प्राण प्रतिष्ठा गरि ८-८ फिट अग्लो मूर्ति हस्तान्तरण गरिने भएको छ ।