अर्थ बजार

अर्जुनधाराका बाख्रापालक कृषकलाई आधुनिकीकरण गरिने

By admin

December 24, 2021

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा रहेको सामुदायिक बाख्रा स्रोत विकास केन्द्रको चौँथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ ।

 

नगरको पशुपक्षी, मत्स्य तथा कछुवा विकास शाखाको प्रांगणमा भएको साधारणसभामा केन्द्रका अध्यक्ष कमल कडरियाले संस्थाको गतिविधिबारे प्रष्ट्याएका थिए । उनले परम्परागतरुपमा बाख्रापालन गर्दै आएका नगरका किसानलाई आउँदो वर्ष आधुनिकीकरण गरी व्यावसायिकतातर्फ लैजाने भावी नीति लिएको बताए ।

 

उनले बाख्रापालक कृषकलाई केन्द्रित गरि वर्षमा ६ पटक तालिम, गोष्ठी आयोजना गर्ने, तथ्यांक अध्यावधिक गर्ने, कार्यालय स्थापना गर्ने, बोयर बाख्रा पकेट क्षेत्रकै रुपमा नगरलाई अघि बढाउने पनि भावी नीति तथा कार्यक्रममा समेटिएको बताए ।

 

यसैगरी, बीउ बोका साटासाट तथा अपुग भएको समूहमा नयाँ बोका वितरण गर्ने योजना रहेको सुनाउँदै उनले साइलेजसम्बन्धी उपकरण र पूर्वाधार निर्माणमा दातृ निकायको सहकार्यमा कार्यक्रम सञ्चालन गर्नेजस्ता संस्थाको भावी नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

 

कार्यक्रमकी प्रमुख अतिथि तथा नगरपालिकाकी उपप्रमुख कमला खतिवडा आचार्यले पशुपालनको क्षेत्रमा नगरका कृषक सवल बन्दै गएको बताइन् । उनले पशु सेवा कार्यालयको प्रभावकारी कार्यक्रमले पशुबाट आर्थिकोपार्जनमा टेवा पुगेको भन्दै प्रशंसा पनि गरिन् ।

 

पशु सेवा शाखा प्रमुख पदमलाल राईले आर्थिक समृद्धिको पाटोमा पशुपक्षीमा देखिने गरि परिवर्तन आएको दाबी गरे । परम्परागत पशुपालनमा लागेका कृषकले केन्द्रमा समेटिएपछि बढी नाफा लिन सकेको पनि उनले सुनाए ।

 

 

कार्यालयबाट दिइएको कार्यक्रमबाट पशुपालक कृषकको आर्थिक स्तरमा सुधार आएको बताउँदै उनले सबै कृषकले लाभ लिन नसके पनि समेटिएका कृषकले अपेक्षानुसारकै आम्दानी हासिल गर्न सकेको उनको भनाइ थियो ।

 

केन्द्रका उपाध्यक्ष सन्तोष राईले स्वागत गरेको कार्यक्रममा संस्थापक अध्यक्ष भीम नेपालले अपेक्षाअनुसार संस्थाले काम गर्न नसकेको भन्दै गुनासो गरेका थिए ।

 

केन्द्रमा अर्जुनधाराका ७० जना बाख्रापालक कृषक समेटिएका छन् । एक सदस्यले कम्तिमा १० वटा बाख्रादेखि १०० वटासम्म बाख्रा पाल्दै आएको संस्थाले जनाएको छ । थोरै बाख्रा पाल्ने कृषकले वर्षमा १ लाखदेखि धेरै पाल्ने कृषकले २५ देखि ३० लाखसम्म आम्दानी लिइरहेको संस्थाका अध्यक्ष कडरियाको भनाइ छ ।

 

सोही कार्यक्रममा संस्थालाई प्राविधिकरुपमा सहयोग गर्ने शाखाका प्राविधिक समिर थामी, किशोर खतिवडा र मिश्र कृषि फर्म अर्जुनधाराका कृषक भानु मिश्रलाई सम्मान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाकी सदस्य मल्लिका खतिवडाले गरेकी थिइन् ।