खेलकुद

एनआरटीले एपीएफलाई बराबरीमै रोक्यो

By admin

December 24, 2021

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको खेलमा एपीएफ र एनआरटीले ३-३ गोलको बराबरी खेलेको हो ।

 

रोमान्चक बनेको खेलमा सुरुआती अग्रता एनआरटीले बनाएको थियो । खेलको ३२औं मिनेटमा दर्शन गुरुङले गोल गर्दै एनआरटीलाई सुरुआती अग्रता दिलाए । उनले मेसुके ओलोमोउको क्रसमा हेडमार्फत गोल गरेका हुन् ।

 

तर, खेलको ३७ औं मिनेटमा आशिष लामाले गोल गर्दै एपीएफलाई १-१ गोलको बराबरीमा फर्काए । प्रदिप लामाको क्रसमा एनआरटीका डिफेन्डरको गल्तिको फाईदा उठाउदै आशिषले हेडमार्फत गोल गरेका हुन् ।

 

दोस्रो हाफमा दुबै टोलीले थप दुई दुई गोल गरे । ४८औं मिनेटमा दर्शनले व्यक्तिगत दोस्रो गोल गर्दै एनआरटीलाई २-१ को अग्रता दिलाए । रन्जन विष्टले पेनाल्टी एरियाको बाहिरबाट उपलब्ध गराएको बल नियन्त्रणमा लिदै उनले उत्कृष्ट गोल गरे ।

 

खेलको ६१ औं मिनेटमा मेसुकेले गोल गरेपछि एनआरटी ३-१ ले अघि रह्यो । अशोक थापाको पासलाई स्टेफेन बिनोङको वान टच पासमा मेसुकेले वान भर्सेज वानमा गोल गरे ।

 

तर, ६५ औं मिनेटमा एपीएफका दिपेश धिमालले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याए । नविन लामाको फ्री(किकमा दिपेशले उत्कृष्ट हेडर गोल गरे ।

 

त्यसपछि ६९ औं मिनेटमा नविन लामाले गोल गर्दै खेललाई ३-३ गोलको बराबरीमा ल्याउदै एपीएफलाई हारबाट जोगाए । आशिष लामाको जिरो एङ्गलको पासमा अन मार्क रहेका नविनले सहजै गोल गरे ।

 

यस बराबरीसँगै एपीएफले ६ खेलमा ५ अंक जोडेको छ । एपीएफ ११ औं स्थानमा रहेको छ । एनआरटीले ६ खेलमा ७ अंक जोडेको छ । एनआरटी छैटौं स्थानमा रहेको छ । खेलको म्यान अफ दि म्याच एनआरटीका दर्शन गुरुङ चुनिए । एपीएफका दिपेश धिमाल इमर्जिङ प्लेयर चुनिए । खेलपाटीबाट