समाज

कांग्रेस नेता उद्दव थापाले लिए बाटो बनाउने अगुवाइ

By admin

December 25, 2021

झापा । नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्दव थापाले लामो समयदेखि निर्माण हुन नसकेको झापाको शनिश्चरे-खुदुनाबारी जोड्ने सडकको बाँकी निर्माण कार्यको अगुवाइ गर्ने भएका छन् ।

 

समयमा रकम निकासा नभएको कारण देखाउँदै निर्माण व्यवसायीले झापाको शनिश्चरे-खुदुनावारी सडक कालोपत्रे नगर्दा स्थानीयवासीले सडकमा ढाट तेस्र्याएर बन्द गरेका छन् ।

 

सभापति थापाले आफू पनि यहीको बासिन्दा भएको भन्दै बाटो निर्माणजस्तो विकासका कार्यमा कसैले राजनीति गर्नु नहुने बताए । जनताले सुख, सुविधा पाउने कुरामा कुनै दलको नभइ सबै जना एक भएर जुट्नुपर्ने उनको भनाइ थियो ।

 

आफू भोलि (आइतबार) काठमाडौँ जाने बताउँदै पहिलो काम नै अलपत्र अवस्थामा रहेको बाटोको निर्माण कार्यलाई अघि बढाउने रहेको उनले बताए ।

 

 

आज (शनिबार) बिहान अर्जुनधारा ७ स्थित बन्द गरिएको स्थानमा आएका सभापति थापाले बाटो निर्माण कार्य सम्पन्न गराउने कुराको अगुवाइ अब आफूले लिएको स्थानीय धुलोपीडितलाई बताउँदै बाटो निर्माण चाँडो सम्पन्न गर्न केन्द्रीय सरकारसमक्ष पहल गर्ने प्रतिवद्धता जनाए ।

 

शनिश्चरे बजारदेखि नारायणचौक, गढी, मदनपुर, खुदुनावारी उत्तर सुखानीसम्म झण्डै नौ किलोमिटर सडक निर्माणको काम २०७५ साल असार २७ गते दी कञ्चनजंघा(शेर्पा–कञ्चनजंघा जेभीले जिम्मा लिएको थियो । २०७७ साल असार मसान्तसम्ममा सडक निर्माण सम्पन्न गरिसक्ने सम्झौता भए पनि हालसम्म सडक निर्माणको काम ९कालोपत्रे० सम्पन्न नहुँदा त्यस क्षेत्रका स्थानीय पटक पटक आन्दोलित भएका छन् ।

 

निर्माण व्यवसायीले समयमा काम सम्पन्न नगर्दा धुलोले पिरोलेको भन्दै स्थानीयले शनिश्चरे बजार उत्तर बाह्रदशी पुलमा ढाट लगाएर सडक नै अबरुद्ध गरेका छन् । निर्माण व्यवसायीले खुदुनावारी दक्षिण याना पेट्रोल पम्पसम्म सडक कालोपत्रे गरे पनि पेट्रोलपम्प दक्षिण कालोपत्रे नगर्दा समस्या आएको हो ।

 

 

अनौपचारिक कार्यक्रममा नेपाली कांग्रेस अर्जुनधाराका उपसभापति चतुर्भूज काफ्लले बाटोको अहिलेसम्मको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा पार्टीका जिल्ला सचिव कृष्ण हुमागाई, नगर सभापति हेमराज खरेल, अर्जुनधारा ७ का वडाध्यक्ष नविन ढुंगानालगायतको उपस्थिति थियो ।