रानीटार । पाँचथरको रानीटारमा सोमबारदेखि एक नम्बर प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिता सुरु भएको छ । उद्घाटन खेलमा आयोजक रानीटार युनाइटेडले तेह्रथुमको आठराई महिला फुटबल क्लबलाई ४-० गोलले हराउँदै विजयी भएको छ ।
रानीटारका तर्फबाट प्रमिला राईले ३ गोल गरिन् भने मनिता तुम्रोकले अर्को एउटा गोल थपिन् । सोमबार नै भएको दोस्रो खेलमा मोरङ महिला फुटबल क्लबलाई ट्राइब्रेकरमा ४–५ गोल अन्तरले हराउँदै द सेभेन युथ क्लब धनकुटा विजयी भएको छ ।
तमु ल्होछारको अवसरमा रानिटार युनाइटेडले आयोजना गरेको प्रतियोगितामा प्रदेश १ का ८ टिम सहभागी छन् । मंगलबार कन्काइ नगरपालिका महिला फुटबल टिम झापा र द सेभेन युथ क्लब ताप्लेजुङबीच दिउँसो १ बजे तथा कर्णसिंह सोनाम फुटबल क्लब ताप्लेजुङ र बिर्तामोड फुटबल क्लबबीच ३ बजे प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
फाइनल खेल माघ १६ गते हुने तालिका छ । प्रतियोगिताका विजेताले ५० हजार र उपविजेताले ३० हजार नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउने छन् ।