समाज

पेस्तोल बेच्न नेपाल आएका दुई भारतीय नागरिक पक्राउ

By admin

December 28, 2021

सुनसरी । सुनसरीबाट दुई थान अटोमेटिक पेस्तोलसहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

 

सुनसरीको कोशी गाउँपालिका १ लौकही बजारमा रहेको बिएस होटलबाट उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारत बिहार राज्यको अररिया जिल्ला बसमतिया २ बस्ने २४ वर्षीय हासिम अन्सारी र बसमतिया ६ घर भएका वर्ष ३५ का विद्यानन्द राम रहेका छन् ।

 

पक्राउ परेकाहरुको साथबाट प्रहरीले २ थान अटोमेटिक पेस्तोल, ३ राउण्ड गोली र ४ थान म्यागजिन बरामद गरेको छ । बरामद हतियारसहित पक्राउ परेका भारतीय नागरिकलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरेको हो । प्रहरीले होटलबाट भारतीय नागरिकले प्रयोग गरेको मोटरसाइकल समेत बरामद गरेको बताएको छ ।

 

प्रहरीले घटनास्थलबाट तीन राउण्ड गोली लोड रहेको एक थान र खाली म्यागजिनसहित अर्को थान गरी २ थान अटोमेटिक पेस्तोल बरामद गरेको हो । पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक सञ्जय सिंह थापाले सुराकीका आधारमा छापामारी होटल पुगेको प्रहरी टोलीले हतियारसहित भारतीय नागरिकलाई नियन्त्रणमा लिएको बताए ।

 

सोधपुछको क्रममा भारतीय नागरिकले आफूहरु पेस्तोल बिक्री गर्न नेपाल आएको बयान दिएको प्रहरी उपरीक्षक थापाको भनाइ छ। पछिल्लो घटनाक्रमसँगै हातहतियारको कारोबारमा ठूलै गिरोहको संलग्नता रहेको हुनसक्ने आशंका सुनसरी प्रहरीले गरेको छ ।

 

सुनसरी प्रहरीले हतियारसहित पक्राउ परेका भारतीय नागरिकको हकमा हातहतियार तथा खरखजाना मुद्दामा कार्वाहीको प्रकृया अघि बढाइएको बताएको छ ।