बिर्तामोड । स्वस्थकर मासु उपलब्ध गराउने उद्देश्यका साथ झापाको बिर्तामोडमा भाउजु मिट मार्ट प्रालि सञ्चालनमा आएको छ । मार्टले पत्रकार सम्मेलन गरेर पुस १७ गतेदेखि कारोबार गर्ने जनाएको छ ।
बिर्तामोड बजार क्षेत्रमा ब्यवस्थित, सुरक्षित, संरक्षित मासु बिक्री केन्द्रको आवश्यकतालाई ध्यानमा राखेर सफा, ताजा मासु बिक्रीमा ल्याएइको मार्टका सञ्चालक विष्णु खरेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।
मार्टको सञ्चालकमा रेखा कार्की रिजाल, पल्मु शेर्पा निरौला, देवीकुमारी ढकाल र हिमा दंगाल रहेका छन् । त्यस्तै प्रवन्ध निर्देशकमा विष्णु खरेल, अनुप निरौला, अभिचन्द्र रिजाल र राजेन्द्र अकौलिया रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
मार्टले महिला उद्यमी समुहले सञ्चालन गरेको इलामको देवभूमि बहुउद्देश्यीय कृषि फार्म र झापाको पूर्वी किरण कृषि फार्मसँगको सहकार्यमा प्रालि सञ्चालनमा ल्याएका हुन् ।
आफ्नै फार्म तथा अन्य उद्यमीहरुले उत्पादन गरेका गुणस्तरीय पशुपंछी तथा कृषि उत्पादनको सहज बिक्री वितरणका लागि मार्टको स्थापना गरिएको सञ्चालकहरुले बताएका छन् ।
आधुनिक प्रविधि र औजारको प्रयोग गरी स्वास्थ्य परीक्षण गरिएका शुद्ध मासु शुद्धिकरण गरी उपभोक्तालाई प्रदान गरिने कार्यक्रममा जानकारी दिइएको छ । नेपाल सरकारले तोकेका मापदण्ड अनुसारको मिट मार्ट सञ्चालन गरिने प्रबन्ध निर्देशक खरेलले बताए ।
मार्ट सञ्चालनका लागि ८०० वर्ग फिटमा पशुपंक्षी वधशाला र करिव १३०० वर्ग फिटलाई खण्डिकृत गरी विभिन्न मासुहरुको बिक्री कक्षसहितको मिट मार्ट सञ्चालनमा आएको हो ।
मार्टमा खसी, बोका, भेडा, च्याङ्ग्रा, बँदेल, लोकल कुखुरा, बोइलर, टर्की, अष्ट्रिज, कालिज, हाँस, बट्टाई, लौकाट, कडकनाथ कुखुरा, कमन कार्प, माछा, लोकल कुखुराको अण्डा, बट्टाईको अण्डालगायतका माछामासु उपलब्ध हुने अर्का प्रवन्ध निर्देशक अनुप निरौलाले जानकारी दिए ।
मार्टमा मासु खरिद गर्ने उपभोक्तालाई अन्य मासु पसलभन्दा सफा र ताजा साथै सस्तो मूल्यमा उपलब्ध गराउने उनले बताए । हाल एक करोडको लगानीमा सञ्चालनमा आएको मार्टमा मात्र २१ जनालाई प्रत्यक्ष रोजगारी दिएको बताइएको छ । मार्टसहित फार्म गरेर करिव १० करोड लगानी रहेको सञ्चालकहरुले बताएका छन् ।