शिक्षा

धनकुटाबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ

By admin

January 02, 2022

धनकुटा । धनकुटाको धनकुटा बहुमुखी क्याम्पसबाट ३ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

 

धनकुटा बहुमुखी क्याम्पसमा सञ्चालन भएको सशस्त्र प्रहरी बलको सशस्त्र प्रहरी जवान पदको लिखित परीक्षामा परीक्षार्थीहरुको प्रवेश पत्र चेकजाँच गर्ने क्रममा धनकुटा शहीदभूमि गाउँपालिका ५ का २८ वर्षीय सौहार्द राई, उदयपुर बेलका नगरपालिका ७ का २२ वर्षीय योगेन्द्र राई र सोही स्थानका ३२ वर्षीय निशान राई पक्राउ परेका हुन् ।

 

पुस १७ गते सञ्चालित परीक्षामा प्रवेश पत्र चेक जाँच गर्ने क्रममा योगेन्द्र राईको १२४२० दर्ता नम्बर भएको प्रवेश पत्रबाट सौहार्द राई नक्कली परीक्षार्थी बनेर परीक्षा हलमा प्रवेश गर्न लाग्दा पक्राउ गरिएको हो । उक्त परीक्षा हलमा प्रबेशको लागी सहयोग गर्दै गरेको अवस्थामा निशान राई पक्राउ परेका हुन् ।

 

पक्राउ परेका नक्कली परीक्षार्थी सौहार्द राई, आफ्नो परीक्षा अर्कोलाई दिन लगाउने योगेन्द्र राई र सहयोगी निशान राई समेत तीनै जनाको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।