खेलकुद

पुलिसलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा उक्लियाे

By admin

January 02, 2022

काठमाडौं । मछिन्द्र फुटबल क्लबले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने भएको छ । सहिद स्मारक ‘ए डिभिजन लिग अन्तर्गत आइतबार नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएसँगै मछिन्द्रले एएफसी कप खेल्ने पक्का भएको हो ।

 

मछिन्द्र जारी लिगको सातौं चरणसम्म लिगको शीर्ष स्थानमा रहँदै एएफसी कपमा छनोट भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातौं चरणको शीर्ष टोलीले एएफसी कप छनोट खेलाउन एसियाली फुटबल महासंघ (एएफसी) लाई प्रस्ताव गरेको थियो । जस अनुसार मछिन्द्र छनोट भएको हो ।

 

मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो । अघिल्लो पटक क्लब लाइसेन्स नभएको कारण मछिन्द्रले छनोटको मौका गुमाएको थियो । यस पटक भने मछिन्द्रले क्लब लाइसेन्स प्राप्त गरिसकेको छ । मछिन्द्रसहित मनाङ, त्रिभुवन आर्मी र एपीएफले क्लब लाइसेन्स पाएको छ । अघिल्लो पटक मछिन्द्रको स्थानमा उपविजेता बनेको आर्मीले एएफसी कप खेलेको थियो ।

 

यसैबीच, साविक विजेता मछिन्द्र फुटबल क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

 

 

आइतबार भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बलले निर्णायक गोल गरे ।

 

सुनिलले पहिलो हाफको २१औं मिनेटमा गोल गरेका थिए । उनले विशाल राईको फ्रीकिकमा हेडमार्फत उत्कृष्ट गोल गरे । जुन गोल मछिन्द्रको जितमा निर्णायक बन्यो।

 

सुनिलको यो जारी लिगमा पाँचौं गोल हो । उनी सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा उक्लिएका छन् । यस जितसँगै मछिन्द्रले नेपालको प्रतिनिधित्व गर्दै एएफसी कप छनोट खेल्ने भएको छ। मछिन्द्र सातौं चरणसम्म शीर्ष स्थानमा रहँदै एएफसी कपमा छनोट भएको हो । मछिन्द्रले पहिलो पटक एएफसी कप छनोट खेल्न लागेको हो ।

 

 

जितपछि मछिन्द्रले ७ खेलमा १७ अंक जोडेको छ । मछिन्द्र दोस्रो स्थानको मनाङभन्दा १ अंकले अघि रहेको छ । मनाङ ७ खेलमा १६ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पुलिस ७ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।