समाज

झापामा आगो निभाउने क्रममा १ को मृत्यु, १२ जना घाइते

By admin

January 06, 2022

मेचीनगर । झापाको मेचीनगर ७ स्थित पिपल चोकमा भएको आगलागी निभाउने क्रममा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

 

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पिपल चोकमा केशव पाठकको टिनको छाना भएको कच्ची घरमा बुधबार राति ९ बजेर २० मिनेटमा अचानक आगो लागेको थियो । उक्त घरमा रामेछापका कुमार पाण्डे भाडामा बस्दै आएको प्रहरीले जनाएको छ ।

 

घरमा लागेको आगो निभाउने क्रममा ग्यास सिलिण्डर पड्केपछि स्थानीय घाइते भएका थिए । घाइतेमध्ये मेचीनगर ८ का ४५ वर्षीय सारद राजवंशीको ज्यान गएको छ । घाइते भएका राजवंशीलाई उपचारका लागि धुलाबारीको एन्जल मेडिकल पुराउनसाथ मृत्यु भएको झापा प्रहरीका प्रवक्ता बसन्त पाठकले जानकारी दिए ।

 

अन्य घाइते हुनेमा ४० वर्षीय लेखनाथ तिमल्सिना, बिर्तामोड ९ का २९ र्षीय गोविन्दप्रसाद राजवंशी, मेचीनगर ७ का ३२ वर्षीय दिपेन्द्र कार्की, ३८ वर्षीय चन्दन गौतम, ४० वर्षीय सुबलाल राजवंशी रहेका छन् ।

 

त्यस्तै, ३५ वर्षीय विनोद गिरी, ३५ वर्षीय नवराज श्रेष्ठ, २३ वर्षीय सन्देश बोहोरा, ४० वर्षीय भवानीशंकर न्यौपाने, मेचीनगर ८ का ३४ वर्षीय हरि विक, मेचीनगर ७ का ३६ वर्षीय निर्मल शर्माको बिर्तामोडको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

 

प्रहरीका अनुसार मेचीनगर ८ का अर्जुन अधिकारीकी ८ वर्षीया छोरी सुशिला अधिकारीको इँटाभट्टाको शाही सुमिरन मेडिकलमा उपचारपछि डिस्चार्ज भएको छ ।

 

आगो मेचीनगर नगरपालिकाकाले दमकल, प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा एक घण्टापछि नियन्त्रणमा लिइएको थियो । आगलागीको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।