समाज

हडियाको बगरमा यसरी बन्दैछ होल्डिङ सेन्टर

By admin

January 06, 2022

झापा । मेचीनगर नगरपालिका १४ दुहागढीस्थित हडिया खोलाको बगरमा होल्डिङ सेन्टर निर्माण अन्तिम चरणमा पुगेको छ । चार विगाह क्षेत्रफलमा फैलिएको होल्डिङ सेन्टर एक हजार जना क्षमताको हो ।

 

होल्डिङ सेन्टरमा २२ वटा छुट्टाछुट्टै पक्की भवन निर्माण गरिएको छ । जसमा १४ वटामा क्वारेन्टिन रहने छ । दुई वटा चिकित्सक र स्वाथ्यकर्मीले आवासको रुपमा प्रयोग गर्नेछन् ।

 

कुल लागत २५ करोड रहेको होल्डिङ सेन्टर गत असार ३ गते हनुमान कन्ट्रक्सन ललितपुरले निर्माण ठेक्का पाएको थियो । पूर्वी नाकामा होल्डिङका लागि जमिन अभाव भएपछि खोलाको बगरमा बनाइएको हो ।

 

होल्डिङ सेन्टर बन्दै गरेको स्थान पूर्वी नाकाबाट करिब २० किलोमिटर टाढा छ । यसअघि सरकारले काँकडभिट्टा नाका आसपासमा होल्डिड सेन्टर निर्माण गर्ने जनाएको थियो । तर, काँकडभिट्टा नाका आसपासमा जमिन नपाइएपछि हडिया खोलाको बगरमा बनाइएको हो ।

 

मेचीनगर १४ का वडाध्यक्ष शंकरप्रसाद पोखरेलका अनुसार नाकामा जमिन नपाइएको गुनासोपछि वडाले जमिन उपलब्ध गराएको हो । विगतमा हडिया खोला बगेको करिब १० बिघा जमिन वडाले संरक्षण गरेर राखेको थियो । वडाले यो जमिनमा खेलकुद रंगशालादेखि कृषि अनुसन्धान केन्द्र र बाल उद्यान निर्माणको योजना बनाएको थियो ।

 

देशभर आठ नाकामा एकै डिजाइनका होल्डिड सेन्टर निर्माणका लागि सरकारले नेपाली सेनालाई जिम्मा दिएको थियो । सेनाले देशैभर हनुमान कन्ट्रक्सनलाई निर्माण ठेक्का दिएको छ ।

 

असार तेस्रो साताबाट निर्माण सुरु भएको होल्डिड सेन्टर भदौ ३ गतेभित्र सम्पन्न गर्नु पर्ने थियो । तर, निर्धारित समयमा निर्माण नसकिएपछि म्याद थप गरिएको र पुसभित्र निर्माण सम्पन्न हुने जनाइएको छ । इकान्तिपुरबाट