अर्जुनधारा । झापाको अर्जुनधारा १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहका नवनिर्वाचित पदाधिकारी तथा सदस्यले मंगलबारदेखि नै पदभार सम्हालेका छन् ।
सोमबार भएको निर्वाचनबाट अध्यक्षमा चन्द्रप्रसाद प्रसाईं निर्वाचित भएका थिए । निर्वाचनको परिणाम मंगलबार बिहान करिब ४ बजे घोषणा भएको थियो । प्रसाई नेतृत्वको १३ सदस्यीय समितिले मंगलबारै सपथ ग्रहण गरी पदभार सम्हालेका हुन् ।
समूहको कार्यालय परिसरमा आयोजित नवनिर्वाचित समूहका पदाधिकारी तथा सदस्यहरुको घोषणा सभा तथा सपथ ग्रहण कार्यक्रममा निर्वाचन समितिका संयोजक वेदप्रकाश भण्डारीले उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका थिए ।
समूहको उपाध्यक्षमा सन्तबहादुर मगर, सचिवमा प्रभा नेपाल सहसचिवमा देउकुमार नेम्वाङ निर्वाचित भएका थिए । त्यस्तै समूहको कोषाध्यक्षमा रामसिंह लिम्बू निर्वाचित भएका छन् ।
समूहका सदस्यहरुमा अमृतबहादुर गौली, कुमारबहादुर बस्नेत, कुमारी बुर्जा मगर, जगतबहादुर एक्तेन, मानबहादुर विश्वकर्मा, मीना विश्वकर्मा, लीलामाया ठकुरी र होमकुमारी गौली निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक भण्डारीका अनुसार जम्मा मतदाता संख्या ९९५ मध्ये ८४१ मतदाताले मतदान गरेका थिए । जम्मा मतपत्रमध्ये ४ वटा मतपत्र पूर्णरुपमा बदर भएको समितिका संयोजक भण्डारीले जानकारी दिए ।
संयोजक भण्डारीको अध्यक्षता र अर्जुनधारा १ वडा समितिका अध्यक्ष गजाधर खतिवडाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा नेकपा एमालेका प्रतिनिधि चन्द्र अधिकारी, नेपाली कांग्रेस वडा सभापति उपेन्द्र बस्नेत, नेकपा एस वडा कमिटीका अध्यक्ष नविन खनाल, राष्ट्रिय जनमुक्ति पार्टी प्रतिनिधि शेरबहादुर एक्तेन, पूर्व अध्यक्षद्वय रामबहादुर निरौला र विष्णु प्रसाईंलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा अध्यक्षका प्रत्यासी नयनबहादुर अधिकारी र विजेन्द्र एक्तेनले निर्वाचित पदाधिकारीलाई शुभकामना दिँदै आवश्यक परेको खण्डमा आफूहरुबाट सहयोग रहने प्रतिवद्धता जनाएका थिए । सपथ ग्रहण कार्यक्रमको सञ्चालन कार्यालय सचिव श्रीप्रसाद नेपालले गरेका थिए ।