समाज

नेपालकै होचो स्थान कचनकवलमा पृथ्वीनारायणको पूर्णकदको शालिक

By admin

January 11, 2022

झापा । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा झापाको कचनकवल ५ स्थित पाठामारीको नयाँ हटियामा पृथ्वीनारायण शाहाको पूर्णकदको शालिक अनावरण गरिएको छ ।

 

पृथ्वीनारायण शाहाको ३००औं जन्मजयन्तीको अवसर पारेर गरिएको सो शालिकको कचनकवल गाँउपालिकाका अध्यक्ष अञ्जरा आलमले अनावरण गरे । कचनकवल गाँउपालिकाले आयोजना गरेको कार्यक्रममा अध्यक्ष आलमले पृथ्वीनारायण शाहाको महत्व आज पनि उत्तिकै रहेको बताए ।

 

अध्यक्ष आलमले शालिक अनावरणले कचनकवल विकासमा मात्र सीमित नभइ देशकै विकासको नमुना समेत भएको बताए । उनले पूर्व पश्चिम, उत्तर दक्षिण सबै क्षेत्रको विकासको लागि राष्ट्र निर्माता पृथ्वीनारायण शाहा सबै नेपालीको ढुकढुकीमा रहिरहने दाबी गरे ।

 

वर्तमान अवस्थामा सुनको अक्षरले संविधान लेख्ने र चाँदीको पानामा लेखेर मात्र नपुग्ने भएकाले देश र जनताको चिन्ता लिनेहरु हरेक नेपाली जनताको घर भान्सामा पुग्नुपर्ने उनको भनाइ छ ।

 

 

नेपालकै होचो भाग कचनकवल स्तम्भ, केचना झिल, निर्माणधीन मेचीको झोलङ्गे पुल आसपासमा स्थापना गरिएको शालिक ऐतिहासिक महत्वसँगै आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि सहयोगी बन्ने विश्वास गरिएको छ ।

 

दश धुर जग्गामा साडे छ फिट अग्लो शालिक कचनकवल गाउँपालिकाको १० लाख रुपैयाँमा निर्माण गरिएको हो । पृथ्वी जयन्तीको अवसरमा कचनकवल गाँउपालिकाले आज स्थानीय विदा समेत दिएको थियो ।