समाज

सुनसरीमा पेस्तोल र गोलीसहित ४ जना पक्राउ

By admin

January 13, 2022

सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले २ थान पेस्तोल र ४ राउण्ड गोलीसहित ४ जनाको समूहलाई पक्राउ गरेको छ ।

 

सुनसरीको ईनरुवा नगरपालिका क्षेत्रमा हातहतियारसहित केही ब्यक्तिहरु रहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले बुधवार साँझ र बिहीवार बिहान गरी ४ जनालाई पक्राउ गरेको हो ।

 

पक्राउ पर्नेहरुमा हरिनगर गाउँपालिका ७ घुस्कीका २० बर्षीय सबिर मिया, ३१ वर्षीय सवरेज मिया, सोही स्थानका २५ वर्षीय सिकन्दर मलाहा र हरिनगर गाउँपालिका ६ का २३ वर्षीय फरियाद अन्सारी रहेका छन् ।

 

सबिर मियालाई बुधवार राति सुनसरीको महेन्द्र चोकबाट पक्राउ गरिएको थियो । मियाको साथबाट प्रहरीले कटुवा पेस्तोल १ थान, गोली १ राउण्ड, र उनले प्रयोग गर्ने १ थान मोटरसाइकल सहित पक्राउ गरेको हो ।

 

यसैगरी मियाकै बयानका आधारमा अन्य ब्यक्तिहरु समेत हातहतियारसहित घुमफिर गरिरहेको भन्ने खूल्न आएसंगै तत्काल प्रहरी परिचालन भएकोमा, थप तीन जनालाई हतियारसहित पक्राउ गरिएको हो ।

 

सवरेज मियासहित अन्य तीन जनालाई बिहीवार बिहान ईनरुवा क्षेत्रबाट १ थान पेस्तोल, तीन राउण्ड गोली, दुई थान म्यागजिन र उनीहरुले प्रयोग गरेको २ थान मोटरसाईकल सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

 

हातहतियारसहित पक्राउ परेका उनीहरुलाई हातहतियार तथा खरखजाना मुद्धामा म्याद थप लिई आवश्यक कानूनी प्रकृया अघि बढाई थप अनुसन्धान भइरहेको प्रहरी कार्यालयले जनाएको छ ।