अर्थ बजार

दर्शक बिना नै ‘आहा रारा गोल्ड कप’ प्रतियोगिता हुने

By admin

January 18, 2022

कास्की । कोरोना संक्रमण तीव्ररूपमा वृद्धि भइरहेकै अवस्थामा पोखरामा २१औँ संस्करणको ‘आहा रारा गोल्ड कप’ फुटबल प्रतियोगिता हुने भएको छ । मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा माघ ६ गतेदेखि पोखरा रंगशालामा प्रतियोगिता सुरु हुने जानकारी दिइएको हो ।

 

प्रतियोगितामा एक विदेशीसहित १० टिमको सहभागिता रहने आयोजक सहारा क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार प्रतियोगितामा संकटा क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस फुटबल क्लब, हिमालयन शेर्पा क्लब, रुस्लान थ्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल एपिएफ क्लब, मनाङ मर्साङदी क्लब र सहारा क्लब सहभागी हुने छन् ।

 

प्रतियोगिताको अन्तिम तयारी गरेका वेला तेश्रो लहरको कोरोनाको प्रभाव परेकोले दर्शक विना नै आयोजक, प्रायोजक, अफिसियल, खेलाडी तथा संचारकर्मीको सहभागितामा प्रतियोगिता संचालन गर्ने तयारी गरिएको अध्यक्ष गुरुङले बताए।

 

प्रतियोगिताको पहिलो खेल पर्सी माघ ६ गते आयोजक सहारा क्लव र विभागीय टोली सशस्त्र प्रहरी वलको एपिएफ क्लवबीच हुनेछ । प्रतियोगिताको बिजेताले १० लाख १ हजार र उपविजेताले ५ लाख १ हजार रुपैयाँ नगद सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन्। प्रतियोगिताबाट १ करोड ३६ लाख १ हजार रुपैयाँ आम्दानी गर्ने र १ करोड ६ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च हुने अनुमान गरिएको महासचिब रामजी प्रसाद अधिकारीले बताए ।

 

२१ वर्षदेखि निरन्तर सञ्चालन गरिँदै आएको यस प्रतियोगितामा वचत हुने रकमले क्लबद्वारा संचालित सुर्यबहादुर केसी स्मृति सहारा फुटबल एकाडेमीमा खर्च गरिँदै आएको क्लवले जनाएको छ । एकाडेमीमा हाल १४ जिल्लाका २४ जना बालकहरु आश्रित छन् ।