समाज

आगो निभाउन जाँदा ज्यान गुमाएका पीडित परिवारले पाएनन् राहत

By admin

January 19, 2022

झापा । आगो निभाउने क्रममा ज्यान गुमाएका झापा मेचीनगर ८ का सरद राजवंशीको परिवारलाई सम्बन्धित निकायबाट राहत मिलेको छैन । घटना भएको दुई साता बित्दा पनि कुनै राहत नमिल्दा पीडितलाई थप पीडा थपिएको छ ।

 

मेचीनगर ७ पिपल चोकस्थित केशव पाठकको घरमा गत पुस २१ गते विद्युत सर्ट भई आगो लागेको थियो । छिमेकीको घरमा आगो लागेको देखेर निभाउन पुगेका सरद राजवंशीको सोही घरको ग्यास सिलिन्डर पड्किएर मृत्यु भएको थियो ।

 

आर्थिक अबस्था कमजोर रहेका मृतक परिवारलाई अहिलेसम्म स्थानीय निकायबाट सहयोग प्राप्त नभएको परिवारको गुनासो छ ।

 

यसैबीच, नेकपा माओवादी केन्द्र मेचीनगरले सहयोग जुटाएको छ । १२औ पुण्यतिथिमा राजवंशी समाज विकास समिति झापाको पहलमा माओवादी केन्द्रले नगद ८ हजार ५ सय र खाद्यान्न सामग्री पीडित परिवारलाई हस्तान्तरण गरेको हो ।

 

सोही क्रममा राजवंशी समाज विकास समितिले नगद ७ हजार ५ सय रुपैयाँ मृतककी छोरीलाई हस्तान्तरण गरेको राजवंशी समाज विकास समितिका सचिव मुनिलाल राजवंशीले जानकारी दिए ।

 

त्यसक्रममा माओवादी केन्द्र मेचीनगर कमिटीका अध्यक्ष राजन चिमरियाले स्थानीय सरकारमार्फत तत्काल राहत दिलाउन पहल गर्ने बताए । पीडित परिवारलाई उचित क्षतिपूर्तिको ब्यबस्था मिलाइदिन स्थानीय सरकारसमक्ष माग गरेको राजवंशी समाज विकास समितिका सचिव राजवंशीले जानकारी दिए ।