स्वास्थ्य

झापामा १३८ सहित प्रदेश १ मा १ हजार ६० संक्रमित थपिए

By admin

January 20, 2022

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार ६० कोरोना संक्रमित थपिएका छन् । यो बुधबारको भन्दा १ सय ६९ बढी हो ।

 

सामाजिक विकास मन्त्रालयको कोभिड १९ दैनिक प्रतिवेदनअनुसार १ हजार ३ सय ९७ जनाको पीसीआर गर्दा ८ सय ४५ (६०.४९ प्रतिशत) र ५ सय ६७ को एन्टिजेन जाँच हुँदा २ सय १५ (३७.९२ प्रतिशत) संक्रमित देखिएका छन् ।

 

मन्त्रालयका अनुसार संक्रमण मुक्त हुने पनि बढेका छन् । बिहीबार ४८ जना संक्रमणमुक्त भएका छन् । बुधबार भने २३ संक्रमणमुक्त भएका थिए । प्रदेशका विभिन्न अस्पतालको जेनेरल बेडमा ३, आईसीयूमा २६, भेन्टिलेटरमा ७ र एचडीयूमा ४६ गरी ८२ जनाको उपचार भइरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

 

होम आइसोलेसनमा संक्रमितको संख्या दिनहुँ बढ्दो छ । होम आइसोलेसनमा ४ हजार ४ सय ४० संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 

बिहीबार सार्वजनिक पीसीआर रिपोर्टमा मोरङमा ३ सय ७७, सुनसरीमा २ सय ५४, झापामा १ सय ३८, धनकुटाका १३, उदयपुरमा ५, तेह्रथुम र इलाममा २, २, भोजपुर, खोटाङ, पाँचथर र ओखलढुंगामा १, १ एवं प्रदेश बाहिरका जिल्लाका ५० संक्रमित छन् ।

 

एन्टिजेन परीक्षणमा संक्रमित देखिएका २ सय १५ मध्ये ५६ मोरङका, ५३ झापाका, ४५ सुनसरीका, २७ इलामका, ९ भोजपुरका, ८ खोटाङका, ७ सोलुखुम्बुका, ६ संखुवासभाका र ४ ओखलढुंगाका छन् । सुनसरीमा ४५ जनाको एन्टिजेन परीक्षणमा ४५ जनै संक्रमित देखिएका छन् ।

 

बिहीबार मोरङमा १ महिलाको मृत्यु भएको छ । प्रदेशमा सक्रिय संक्रमितको संख्या ४ हजार ५१५ पुगेको छ । मन्त्रालयका अनुसार संक्रमण दर बढे पनि गम्भीर बिरामी भने कम छ ।