ताप्लेजुङ । ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका ७ याङमा तीन हजार ४०० सय मिटर उचाई क्षेत्रका बस्तीहरुमा बुधबार रातिदेखि बाक्लो हिमपात भएको हो ।
हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बढी बालबालिका र ज्येष्ठ नागरिकहरू प्रभावित भएको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातले जनजीवन प्रभावित हुनका साथै पशु चौपाया समेत प्रभावित भएका टासी तेन्जीले शेर्पाले बताए ।
हिमाली क्षेत्रमा प्रमुख पुर्ख्यौली पेसाको रुपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउन मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीको बाछाबाछीहरूलाई हिमपातको समयमा जोगाउने समस्या हुने शेर्पाको भनाइ छ ।
त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुगोला र भले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपात भएको छ । मिक्वाखोला गाउँपालिका ६ तोक्पेगोला र पापुङ बस्तीहरुमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका ६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।
त्यस्तै समुद्र सतह देखि तीन हजार ७९४ मिटर उचाईमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ ।
हिमपात भएसँगै यता सदरमुकाम फुङ्लिङ बजारमा चिसो बढेको छ । ताप्लेजुङमा पहिलो पटक १३ र १४ पुसमा र दोेस्रो २९ पुसमा गते हिमपात भएको थियो । अहिले ताप्लेजुङमा तेस्रो पटक हिमपात भएको हो ।