समाज

सुकेटार विमानस्थल स्तरवृद्धि हुन १५ प्रतिशत बाँकी

By admin

January 21, 2022

ताप्लेजुङ । ताप्लेजुङको सुकेटार विमानस्थल स्तरवृद्धिको काम ८५ प्रतिशत सकिएको छ । कोभिड १९ को सङ्क्रमण जोखिम रहेको अवस्थामा पनि विमानस्थल स्तरवृद्धिको काम भइरहेको छ ।

 

आर्थिक वर्ष २०७६/७७ मा विमानस्थल स्तरवृद्धिका लागि १६ करोड रुपियाँ बजेट विनियोजन भएको थियो । त्यो बजेटको ठेक्कामार्फत निर्माण गर्नलाई बोलपत्र आह्वान गर्दा खड्का कृष्ण/बङ्गलामुखी जेभी कन्स्ट्रकशनले आठ करोड ९९ लाख ५० हजार तीन सय ४९ रुपैयाँमा ठेक्का पारेको थियो ।

 

ठेक्का पारेपछि जेभी कन्स्ट्रकशनले स्तरवृद्धिको काम सुरु गरेको र अहिलेसम्ममा ८५ प्रतिशत प्रगति गरेको यो आयोजनाको काम हेरिरहनुभएका सुकेटारमा रहेको नेपाल नागरिक उड्डयन कार्यालयका वरिष्ठ अधिकृत सुजन गिरीले टेलिफोनमार्फत बताउनुभयो ।

 

काम सुरु भएको दुई वर्ष अर्थात् २०७८ साल असोजभित्रमा सक्नुपर्ने भए पनि कोरोनाका कारण ६ महिना अर्थात् चैत्रसम्म म्याद थपिएको छ ।

 

ठेकेदार कम्पनीका प्रमुख भीमसेन भण्डारीका अनुसार विमानस्थलको पूर्वतर्फ रहेको डाँडालाई सम्याउने काम सकिएको छ । त्यस्तै ग्याबिन तार, ड्रेन निर्माण लगायतका काम पनि सकिएको उहाँले बताउनुभयो ।

 

अब धावन मार्गलाई कालोपत्र (पिच) गर्ने काम मात्र रहेको उहाँले जानकारी दिनुभयो । अहिले अत्यन्तै चिसो भएका कारण पिच गर्न समस्या भएको र मौसम तातो हुनासाथ त्यो काम गरेर प्राधिकरणलाई बुझाउने भण्डारीले बताउनुभयो । धावन मार्ग पिच गर्न ग्राभेल गरी ठिक्क पारेको उहाँको भनाइ छ ।

 

सदरमुकाम फुङलिङ बजारदेखि आठ किलोमिटरको दूरीमा उत्तर–पूर्वमा रहेको सुकेटार विमानस्थल २०२८ सालमा बनाइएको हो । यस्तै आजभन्दा झन्डै सात वर्षअघि विमानस्थलको लम्बाइ सात सय र चौडाइ २० मिटर कायम हुने गरी कालोपत्र गरिएको थियो ।

 

अहिले कायम रहेको लम्बाइ सात सय मिटरबाट बढाएर नौ सय मिटर बनाउने गरी स्तरवृद्धिको काम भइरहेको छ । नालीसहितको धावन मार्गबाहेक यात्रु प्रतीक्षालय, सुरक्षा जाँचका लागि व्यवस्थित कक्ष निर्माण लागयतका काम पनि हुनेछ ।

 

विमानस्थल समयमै स्तरोन्नति र स्तरवृद्धि नभए पनि नियमित उडान भने नरोकिएको नेपाल वायु सेवा निगम ताप्लेजुङका प्रमुख लोकेन्द्र लिम्बुले बताउनुभयो । नियमित उडान नहुँदा भने जिल्लाको पर्यटन विकासमा बाधा पुग्दै आएको छ ।

 

सुकेटारमा नियमित उडान नभएकै कारण विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घासहित यहाँको पर्यटकीय स्थलको भ्रमण गर्ने बाह्य पर्यटकको उपस्थिति न्यून रहेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । यो समाचार उज्यालो अनलाइनका लागि केशवप्रसाद भट्टराईले लेख्नुभएको हो ।