खेलकुद

सडन डेथबाट पुलिस आहा राराको क्वाटरफाइनलमा

By admin

January 21, 2022

पोखरा । नेपाल पुलिस क्लब पोखरामा जारी २०औं संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको खेलमा हिमालयन शेर्पा क्लबलाई सडन डेथमा हराउँदै पुलिस क्वाटरफाइनलमा पुगेको हो ।

 

पोखरा रंगशालामा भएको रोमान्चक खेलको निर्धारित ९० मिनेट १-१ गोलको बराबरीमा सकिएको थियो। त्यसपछि थपिएको अतिरिक्त समयमा थप गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा पनि ४-४ को बराबरी भएपछि खेल सडन डेथमा पुगेको थियो ।

 

सडन डेथमा पुलिसका बुद्ध लामा र राम वाजीले गोल गरे । तर, हिमालयनका जीवन गुरुङले गोल गर्दा पूर्ण गुरुङ चुके । उनको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले बचाए । पेनाल्टीअघि खेलको ५२औं मिनेटमा निरकुमार राईले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए । तीर्थ रनमा मगरको पासमा उनले सहजै गोल गरे ।

 

तर, ५९ औं मिनेटमा कप्तान विश्वास श्रेष्ठले गोल गर्दै हिमालयनलाई १-१ गोलको बराबरीमा ल्याएका थिए। पेनाल्टी क्षेत्रभित्र पुलिसका डिफेन्डर सन्तोष हेमरनलाई लाग्दै फर्किएको बलमा विश्वासले सुन्दर गोल गरे ।

 

अब पुलिसले अन्तिम आठमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगितामा कुल १० टिमको सहभागिता रहेको छ ।

 

प्रतियोगिताको विजेता टिमले १० लाख १ हजार र उपविजेता टिमले ५ लाख १ हजार प्राप्त गर्ने छ । यस वर्ष पनि स्वर्गीय सूर्यबहादुर केसीको स्मृतिमा उत्कृष्ट ५ विधाको पुरस्कार प्रदान गरिनेछ ।