समाज

ताप्लेजुङका हिमाली बस्तीमा हिमपात, जनजीवन प्रभावित

By admin

January 24, 2022

ताप्लेजुङ । ताप्लेजुङमा तेस्रोपटक ठूलो हिमपात भएपछि स्थानीय जनजीवन कष्टकर बनेको छ । समुद्र सतहदेखि चार हजार २०० मिटर उचाइमा अवस्थित फक्ताङलुङ गाउँपालिका ७ याङमा तीन हजार ४०० सय मिटर उचाइ क्षेत्रका बस्तीहरुमा बिहीबारदेखि बाक्लो हिमपात भएसँगै जनजीवन कष्टकर बनेको हो ।

 

अहिले हिमाली बस्तीहरु हिउँले छोपिएको छ । गत बिहीबारदेखि हिमपात हुन सुरु भएकोमा आज पनि हिमपात जारी रहेको घुन्साका स्थानीय केल्साङ शेर्पाले बताए । हिमपातका कारणले अत्यधिक चिसो बढेकाले बालबालिका र ज्येष्ठ नागरिक बढी प्रभावित भएका शेर्पाले बताए ।

 

हिमपातले जनजीवन प्रभावित हुनका साथै पशु चौपायसमेत प्रभावित भएको घुन्साका स्थानीय टासी तेन्जीले शेर्पाले बताएका छन् । हिमाली क्षेत्रका बासिन्दाले प्रमुख पुर्ख्यौली पेसाको रुपमा पशुपालन गर्दै आएको छ । तर, हिमपातको समय पशु जोगाउ नै मुस्किल पर्ने शेर्पाले बताए । सबैभन्दा याक चौँरीका बाछाबाछीलाई हिमपातको समयमा जोगाउन समस्या हुने शेर्पाले बताए ।

 

त्यस्तै समुद्र सतहदेखि तीन हजार २०० मिटरमा अवस्थित ओलाङचुङगोला र भले, ग्याप्ला बस्तीमा पनि निकै बाक्लो हिमपातले बस्ती छोपेको छ । मिक्वाखोला गाउँपालिका ६ तोक्पेगोला र पापुङ बस्तीहरूमा समेत हिमपात भएको मिक्वाखोला गाउँपालिका ६ का वडा अध्यक्ष डन्डु शेर्पाले बताए ।

 

त्यस्तै समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा मन्दिर क्षेत्रमा पनि हिमपात भएको छ । हिमपातका कारणले पाथीभरा मन्दिरमा पूजापाठ गर्न आउने तीर्थयात्रीसमेत प्रभावित हुन पुगेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले बताए ।

 

हिमपात भएसँगै यता सदरमुकाम फुङलिङ बजारमा चिसो बढेको छ । अत्यधिक जाडोले जनजीवन प्रभावित भएको छ । ताप्लेजुङमा पहिलो पटक पुस १३ र १४ गते हिमपात भएको थियो । दोस्रो २९ गते हिमपात भएको थियो ।