समाज

धरानबाट ३१ ग्राम ब्राउन सुगरसहित ७ जना पक्राउ

By admin

February 01, 2022

सुनसरी । खैरो हेरोइन (ब्राउन सुगर)सहित धरान प्रहरीले ७ जनालाई पक्राउ गरेको छ । उनीहरुलाई धरानको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।

 

धरानस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीका अनुसार विशेष सूचनाको आधारमा संघीय प्रहरी इकाई कार्यालय धरान र इलाकाको टोलीले आइतबार बेलुका करिब ५ बजे धरान १३ शिवधारा बेसक्याम्प टोलबाट ४ जनालाई पक्राउ गरिएको थियो । उनीहरुको साथबाट २० ग्राम ब्राउन सुगर, तौलने डिजिटल काँटा बरामद भएको थियो ।

 

उनले भने, ‘स्थानीय नरेश मगरको घरमा प्रहरी पुगेर खानतलासी गर्दा काठको पलङमा रहेको सिरानीमुनि सेतो प्लाष्टिकभित्र लुकाएर राखेको अवस्थामा ब्राउन सुगर र १ थान डिजिटल तराजु फेला परेको हो ।’ सोही घरबाट २९ वर्षीय भरत मगर, २७ वर्षीय ओमप्रकाश लिम्बू, २६ वर्षीय सुजन श्रेष्ठ र ३० वर्षीय मन्दिर मगर पक्राउ परेका थिए ।

 

उनीहरुलाई पक्राउ गरेसँगै थप सोधपुछ गर्दा दिएको बयानको आधारमा करिब साढे ५ बजे वडा नम्बर १२ स्थित चतरालाइनस्थित धरायन उपमहानगरपालिका प्रवेशद्वार अगाडिबाट ४ ग्राम ब्राउन सुगरसहित धरान १९ बस्ने २६ वर्षीय जनम मगर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

 

उनलाई प्रहरीले चार ग्राम ब्राउनसुगर प्लास्टिकको सानो पोकामा पाइन्टको गोजीभित्र लुकाएर राखेको अवस्थामा फेला पारेका थिए । प्रहरीलाई मगरले आफू लागूऔषध प्रयोगकर्ता रहेको बयान दिएका छन् । पक्राउ परेकाहरुले बयान दिएको आधारमा प्रहरीको टोलीले सोही दिनको बेलुकी ६ बजे धरान ३ स्थित भानुस्मृति मार्गमा हिँडिरहेका सारन खड्गीलाई पनि पक्राउ गरेको थियो ।

 

उनको गोजीमा ७ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । खड्गीले धरान ३ बस्ने २२ वर्षीय राजीव मगरबाट खरिद गरेको बयान दिएपछि राजीवलाई पनि पक्राउ गरेको प्रहरी निरीक्षक ओलीले बताए ।

 

उनीहरुलाई सोमबार नै सुनसरी जिल्ला अदालतबाट म्याद थप गरेर लागूऔषध नियन्त्रण ऐन २०३३ (घ) अनुसार अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । इकान्तिपुरबाट