झापा । बुद्धशान्ति गाउँपालिका २ स्थित जयपुरमा सातौं नव ज्योति च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ । गतवर्ष कोभिड १९ को जोखिमका कारण स्थगित भएको थियो ।
नव ज्योति युवा क्लबको आयोजनामा आगामी फागुन १३ देखि २० गतेसम्म जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुने प्रतियोगितामानेपाल र भारतका ८ टिम सहभागी हुने मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
प्रतियोगितामा आयोजक क्लबसँगै दार्जीलिङको मानेभञ्ज्याङ, इलाम, मोरङ, सुनसरीका २ वटा, झापा र काठमाण्डौका आठ टिमको सहभागिता रहने क्लबका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए । उनका अनुसार प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमशः एक लाख ५० हजार रुपैयाँ र ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
बुद्धशान्ति गाँउपालिका, सिजनल टिकट, गेट टिकट, विज्ञापन, विभिन्न दाताहरुबाट स्रोत संकलन गर्ने लक्ष्य लिइएको उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित १२ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
सोही कार्यक्रममा क्लबका जग्गादाता प्रेम बोहोराबाट पितृहरुको स्मृतिमा उपविजेतातर्फको नगद पुरस्कार ७५ हजार रुपैयाँ, क्लबका पूर्व खेलाडी हाल अमेरिकामा रहेका पारस चौलागाईंबाट ६ वटा खेलका म्यान अफ दी म्याचतर्फको नगद पुरस्कार ३० हजार रुपैयाँ र भरत खतिवडा, विप्लव भट्टराई र शोभित राईबाट फाइनल खेलको पाँच विधातर्फको नगद पुरस्कार २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा बुद्धशान्ति २ वडा समितिका अध्यक्ष दिलीपकुमार श्रेष्ठ, वडा सदस्य नेत्र गौतम, क्लबका संस्थापक सचिव धुव्रकुमार ओली, जीवन पोखरेल, हरिराज कडरियालगायतले बोलेका थिए । क्लबका अध्यक्ष पोखरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन अमिर श्रेष्ठले गरेका थिए ।
२०४२ सालमा स्थापना भएको उक्त क्लबले जयपुरमा खेलकुद, सांस्कृतिक, साहित्यको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।