काठमाडौं । तनानपूर्ण बनेको खेलमा नेपालले मौरिससमाथि दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पनि मौरिससलाई पराजित गरेको छ । नेपालको कठिन जित निस्किँदा दुवै टोलीमाथि कार्डको वर्षा भएको थियो । खेल अवधिमा ४ वटा रेड कार्ड देखाइयो ।
मिडफिल्डर सुजल श्रेष्ठको गोलमा १० खेलाडीमा समेटिएको नेपालले ९ खेलाडीमा समेटिएको मौरिससलाई १-० ले पराजित गरेको हो । यो जितसँगै नेपालले मौरिसससँगको दुई खेल क्लिनस्वीप गरेको छ । शनिबार भएको पहिलो खेलमा नेपालले १-० कै जित निकालेको थियो । उक्त खेलमा विमल घर्तीमगरले गोल गरेका थिए ।
१०औं मिनेटमा सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई १-० को अग्रता दिलाए । नविन गुरुङको कर्नरलाई गोलरक्षक लोइक मिचेलले पञ्च गरेर बाहिर फालेको बललाई आशिष लामाले गरेको प्रहारमा पुजन उपरकोटीको ब्याकहिल पासलाई सुजल श्रेष्ठले क्लोज रेन्जबाट फाइनल टच दिएका थिए । उनको यो तेस्रो अन्तर्राष्ट्रिय गोल हो ।
१२औं मिनेटमा गोलरक्षक तथा कप्तान किरण चेम्जोङले पेनाल्टी बचाउँदै नेपालको बराबरी टारे । पेनाल्टी बक्समा दिनेश राजवंशीले कप्तान एन्डी सोफीलाई फउल गर्न पुगेपछि रेफ्री नविन्द्र महर्जनले मौरिससलाई पेनाल्टी प्रदान गरेको थियो । तर, कप्तान एन्डी सोफीले पेनाल्टीलाई नेपाली गोलरक्षक किरणले बचाउँदा रिवाउन्डमा एरिक विष्टले क्लियर गरिदिए ।
तनावपूर्ण बनेको खेलको ७१औं मिनेटमा दुवै टोली १० खेलाडीमा समेटिन पुग्यो । नेपालका पुजन उपरकोटी र मौरिससका एड्रियन बोट्लरर दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । नेपालका सहायक प्रशिक्षक बिकास मल्ललाई रेफ्री नविन्द्र महर्जनले रातो कार्ड देखाएका थिए ।
७९ओं मिनेटमा मौरिसस १० खेलाडीमा समेटियो । गौतम श्रेष्ठमाथि खराव ट्याकल गरेपछि इमानुयल फुलचुन्ड दोहोरो पहेलो कार्डसहित रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । खेल अवधिभर दुवै टोलीका खेलाडीलाई आधा दर्जनभन्दा बढी पहेँलो कार्ड देखाइएको थियो ।
लाइटका कारण खेल झन्डै ८ मिनेट खेल रोकिन पुगेको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा पहिलो हाफमा सुजलले गरेको गोल नै नेपालको जितमा निर्णायक बन्यो ।
खेलको म्यान अफ दी म्याच नेपाली टिमका कप्तान तथा गोलकिपर किरण लिम्बू घोषित भए । उनले पेनाल्टी सुट पनि बचाएका थिए । उनले दोस्रो हाफ केही कठिनाइ भएको प्रतिक्रिया दिए । खेलमा टिमले पूरै मिहेनत गरेको उनको भनाइ थियो ।