मेचीनगर । मेचीनगर ६ काँकरभिट्टाको बर्मेली टोलमा रहेको एसएस फुटवेयरमा लागेको आगो ५ घण्टापछि नियन्त्रणमा आएको छ । आगलागीमा परि करिब साढे ८ करोडभन्दा बढीको क्षति भएको जनाइएको छ ।
बिहान करिव ११ः४० बजेदेखि सो जुत्ता फ्याक्ट्रीमा लागेको आगलागी साँझ ५ः४५ बजेतिर नियन्त्रणमा आएको हो । मेचीनगर ६ का श्याम खेतानले संचालन गरेको सो जुत्ता फ्याक्ट्रीमा विद्युत सर्ट भई आगलागी भएको जनाइएको छ । आगलागीको यथार्थ कारण थाहा हुन सकेको छैन ।
पूर्वी नाका काँकरभिट्टामा आगलागी हुँदा स्थानीय सरकार मेचीनगर नगरपालिकाको दुई वटा दमकल भने बिग्रिएर थन्किएको अवस्थामा थियो । समयमै दमकल आउन नसक्दा आगोले उग्ररुप लिएको थियो भने थप क्षति बढेको हो ।
नगरपालिकाको दमकलको मर्मत सम्भार, कर्मचारीको तलब, अन्य सुविधाका विषयमा सामाजिक सञ्जालमा अहिले विभिन्न आलोचना र प्रतिक्रिया आइरहेका छन् । नेपालको विभिन्न जिल्लाका दमकलको सहयोग लिइए पनि आगो नियन्त्रणमा लिन नसकिएपछि भारतीय सुरक्षाकर्मी र दमकलको भर पर्नुपरेको थियो ।
अनेक प्रयासपछि आगलागी साँझ ५ः४५ बजे नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाठकले बताए । उद्योगभित्र रहेका जुत्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुत्ता, केमिकललगायतका सामान पूर्णरुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
उद्योग संचालकले आगलागीबाट साढे ८ करोड क्षति भएको अनुमान गरेका छन् । आगो निभाउन नेपाल र भारतका दर्जनभन्दा बढी दमकल खटिएका थिए । भारतबाट २ वटा दमकल आएका थिए भने झापा, इलाम र मोरङका दमकलले आगो नियन्त्रणमा लिन सहयोग गरेका थिए ।
‘उद्योगभित्र रहेको जुत्ता बनाउने कच्चा पदार्थ, रेडिमेड जुत्ता, केमिकल लगायतका सामान पूर्णरुपमा नष्ट भएको छ’, डिएसपी दाहालले भने, ‘भवनको चारैतिरको भाग पूर्णपमा जलेको छ । क्षति यकिन भन्न नसके पनि करोडौँको क्षति भएको अनुमान गर्न सकिन्छ ।’
आगलागी शुरू भएको भन्ने जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट प्रहरी नायव उपरीक्षक सुनिलसिंह दाहालको कमाण्डमा टोली खटिएको थियो । उक्त आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी ,सशस्त्र प्रहरी, स्थानीयले पनि सहयोग गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी पाठकले जानकारी दिएका छन् ।