समाज

सोलुखुम्बुमा भारी हिमपात, सडक अवरुद्ध

By admin

February 04, 2022

सोलु । हिमाली जिल्ला सोालुखुम्बुमा बिहीबार रातिदेखि नै भारी हिमपात भइरहेको छ । दुई दिनदेखि मौसममा खराबी आए पनि हिमपात भने हिजो रातिबाट सुरु भएको हो । जिल्लाको हिमाली तथा उच्च पहाडी क्षेत्रमा बाक्लो मात्रामा हिमपात भइरहेको हो ।

 

हिमपातका कारण सबै डाँडा र बस्तीहरु सेताम्मे भएका छन् । यो हिउँद यामकै बाक्लो हिमपात भएको हुँदा चिसोले जनजीवन कष्टकर भएको छ । खुम्जुङ, नाम्चेबजार, लुक्ला, सल्लेरी र पत्तालेमा सबैभन्दा बढी हिउँ परेको हो । नाम्चे बजारमा दुई फिटभन्दा बढी हिउँ जमेको छ भने जिल्लाको नाका पत्ताले बजारमा एक फिटभन्दा बढी हिउँ जमिसेकेको छ ।

 

‘रातिदेखि लगातार हिउँ परिरहेको छ । एक फिटभन्दा बढी हिउँ सडकमा जमेको छ,’ पत्तालेका स्थानीय प्रकाश मगरले भने । हिउँ परेसँगै जिल्लाको सडक आवागमन ठप्प भएको छ ।

 

आज बिहान सोलुखुम्बुबाट बाहिरिने कुनै पनि सवारीसाधन पत्तालेबाट अगाडि बढ्न सकेका छैनन् । पत्तालेको करिब ५ किलोमिटरभन्दा बढी लामो सडकमा हिउँ जमेको छ । ‘दैनिक ४५ भन्दा बढी सुमो जिल्लाबाट बाहिरिने गरेका थिए । आज एउटा गाडी पनि पत्तालेबाट कट्ने सम्भावना छैन,’ जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्ण कटवालले भने । आजै अवरुद्ध सडक खुलाउने सम्भावना नभएको उनको भनाइ छ ।

 

अहिले अधिकांश स्थानको तापक्रम माइनसमा झरेको छ । नाम्चे बजारको तापक्रम माइनस ६ डिग्री सेल्सियस हुँदा पत्तालेको तापक्रम माइनस २ डिग्री सेल्सियस रहेको छ ।

 

 

जिल्ला सदरमुकाम सल्लेरीमा पनि अहिलेसम्मकै सबैभन्दा धेरै हिउँ परेको छ । सल्लेरीमा धेरै मात्रामा हिउँ परेपछि बाहिरबाट कामको सिलसिलामा गएकाहरु हिउँमा रमाउन सुरु गरेका छन् । ‘यति धेरै हिउँ सल्लेरीमा अहिलेसम्म परेको थिएन,’ माछापुच्छ्रे बैंकका शाखा प्रबन्धक टेकबहादुर बस्नेतले भने, ‘सल्लेरीमै बसेर हिउाको मज्जा लिन पाइएको यो पहिलो पटक हो ।’

 

हिमपातका कारण बालबालिका तथा वृद्धवृद्धाहरु भने घरबाट बाहिर निस्कन सकिरहेका छैनन् । अत्याधिक चिसोका कारण उनीहरु प्रभावित भएका हुन् । हिमपातका कारण नेपालकै सबैभन्दा धेरै विमानस्थल रहेको जिल्लामा सबै विमानस्थलमा हवाइ उडान पनि प्रभावित भएका छन् । इकान्तिपुरबाट, तस्वीरहरूः भानुभक्त निराैला