अर्थ बजार

अझै नियन्त्रणमा आएन चाउचाउ उद्योगको आगलागी (अपडेट)

By admin

February 12, 2022

बिर्तामोड । झापाको मेचीनगर १४ दुवागढीस्थित मनसा थाईफुड्स प्रालिमा शनिबार विहान करिब ५ बजेदेखि लागेको आगो नियन्त्रण प्रयास जारी छ । दिउँसो २ बजेर १५ मिनेटमा यो समाचार तयार पार्दासम्म आगो पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको प्रहरीले जनाएको छ ।

 

तर, आगो पूर्णरुपमा नियन्त्रणमा आइनसकेको भए पनि अन्यत्र फैलनसक्ने सम्भावना कम भएको प्रहरीको भनाइ छ । आगलागी नियन्त्रणका लागि झापा, इलाम, मोरङ र सुनसरीका गरी १५ वटा दमकल प्रयोग गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए । उनका अनुसार आगो ९० प्रतिशतजति नियन्त्रणमा आइसकेको छ ।

 

लेटाङ र इलाम सूर्योदय नगरपालिकाको फोमवाला दमकलसमेत आगलागीस्थलमा आगो नियन्त्रणमा प्रयोग गरिएको छ । अहिले पानीवाला दमकललाई कम गर्दै लगिएको प्रनाउ पाठकले जानकारी दिए । उनका अनुसार अहिले ४ वटा स्काभेटरले आगो लागेको स्थानमा खोतल्ने काम गरिरहेको छ । १० प्रतिशतजति आगो भए पनि नियन्त्रण हुने टुंगो छैन ।

 

उद्योगको मुख्य भवन आगलागीबाट जोगिएको प्रवक्ता पाठकले बताए । उद्योगको सम्पूर्ण कच्चा पदार्थ जलेर नष्ट भएका छन् भने साना टहराहरु समेत पूर्ण रुपमा जलेका छन् । उद्योगको लागि आवश्यक डाल्डा लगायतका प्रज्वलनशील पदार्थ भएको स्थानमा आगो पुग्न नदिइएको उनले बताए ।

 

आगलागीबाट उत्पादित चाउचाउ, कच्चा पदार्थ, मेसिनलगायत सबै जलेका छन् । कार्यालय भवन भने आगोबाट जोगाइएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीयबासी आगो नियन्त्रणमा खटिएका छन् । आगलागी भएको समय ९ घण्टा बितिसकेको छ ।

 

विद्युत सर्ट भएर आगलागी भएको आशंका गरिएको छ । आगलागीबाट मानवीय क्षति भएको छैन । चार बर्षपहिले करिब १ अर्ब लगानीमा स्थापना भएको उक्त उद्योगले मगमग, अकबरे लगायत ब्राण्डका चाउचाउ उत्पादन गर्दै आएको छ ।