काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबले सहज जित निकालेको छ । जितसँगै मछिन्द्र जारी लिगको शीर्ष स्थानमा यथावत छ ।
शनिबार भएको खेलमा मछिन्द्रले पुछारको च्यासल युथ क्लबलाई २-० गोल अन्तरले हराएको हो । मछिन्द्रलाई जित दिलाउन विमल घर्तिमगर र सुनिल बलले एक एक गोल गरे ।
मछिन्द्रका लागि विमल घर्ती मगरले खेलको १५औँ मिनेटमा हेडर गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले रन्जित धिमालको कर्नर प्रहारमा उत्कृष्ट हेडमार्फत गोल गरेका हुन् । यस्तै, पहिलो हाफकै ३७औँ मिनेटमा सुनिल बलले गोल गरे अग्रता दोब्बर बनाएका थिए ।
यसैबीच, मछिन्द्रका मिडफिल्डर मनिष डाँगीले खेलका दौरान गम्भीर चोट बोकेका छन् । च्यासल युथ क्लबविरुद्धको खेलमा मनिषले चोट बोकेका हुन् । खेल दौरान चोट बोकेपछि मनिषलाई अस्पताल लगिएको छ ।
च्यासलका यानिक केचासँग जुध्न पुग्दा उनी मैदानमा लडेका थिए । उनलाई तत्काल मैदानमै सीपीआर दिईएको थियो । खेलको ६६औँ मिनेटमा उनी मैदानमा लड्न पुगेका थिए । करिब २ मिनेटपछि उनी होसमा फर्किए । मनिषले गम्भीर चोट बोकेपछि उनका साथीहरु भावुक बनेका थिए । केही खेलाडी मैदानमै रोएका थिए ।
जितसँगै मछिन्द्रले १० खेलमा २६ अंक जोडेको छ । च्यासल १० खेलमा ५ अंक जोडेर पुछारमा रहेको छ ।