खेलकुद

थ्री स्टारले मनाङलाई बराबरीमै रोक्यो

By admin

February 12, 2022

काठमाडौं । कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबले बराबरी खेल्दै अंक बाडेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा मनाङ र थ्री स्टारले १-१ गोलको बराबरी खेलेको हो ।

 

खेलमा सुरुआती अग्रता भने मनाङले बनाएको थियो । खेलको ६२औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदान पसेका दयानन्द सिंहले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए । कप्तान अन्जन विष्टको क्रसमा पुजन उपरकोटीको स्थानमा मैदान पसेका दयानन्दले हेडर मार्फत गोल गरे ।

 

तर, खेलको ७१औं मिनेटमा ऋतिक खड्काले गोल गर्दै थ्री स्टारलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । घानिफोको पासमा उनले बक्स बाहिरबाट प्रहार गरेको बल पोस्टमा लाग्दै जाली चुमेको थियो । त्यसबाहेक दुबै टोलीले गोलको अन्य अवसर गुमाएका थिए ।

 

यस बराबरीसँगै मनाङले १० खेलमा २० अंक जोडेको छ । मनाङ लिगको दोस्रो स्थानमा रहेको छ । थ्री स्टार १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ । खेलपाटीबाट