समाज

झापामा पानीमा डुबेर र करेन्ट लागेर २ को मृत्यु

By admin

February 13, 2022

झापा । झापाका अलग अलग स्थानमा शनिबार दुई जनाको मृत्यु भएको छ । झापाको शिवसताक्षी नगरपालिकामा पानीमा डुबेर र मेचीनगर नगरपालिकामा करेन्ट लागेर दुई व्यक्तिको मृत्यु भएको हो ।

 

शनिबार बिहान शिवसताक्षी नगरपालिका १ बस्ने टिकामाया श्रेष्ठका ३ वर्षीय छोरा आयुस श्रेष्ठको घरबाट अन्दाजी १५० मिटर उत्तरमा रहेको सडकको नालीको पानीमा डुबेर मृत्यु भएको हो ।

 

नालीमा डुबिरहेको अवस्थामा बालकका काका दिनेश श्रेष्ठले देखेर तत्काल उपचारको लागि लाईफलाईन अस्पताल दमक पुर्याइ उपचार भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी बसन्त पाठकले बताए ।

 

यसैगरी, शनिबार साँझ ४ बजे मेचीनगर १३ सुगम टोलस्थित फुलबासा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा स्थानीय ५० वर्षीय मानबहादुर बराइलीको मृत्यु भएको हो ।

 

आफ्नै घरबाट विजुलीको तार जडान गरी घरदेखि १५ मिटर पश्चिम खोलामा माछा मार्ने क्रममा बराईलीलाई अचानक करेन्ट लागेको थियो । घाईतेलाई उपचारको लागि बिर्तामोडतर्फ लाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।