अर्जुनधारा । झापाको अर्जुनधारा ८ मा रहेको प्रज्वला अपाङ्ग तथा महिला बहुउद्देश्यीय सहकारी संस्थाले २०औं वार्षिकोत्सवको अवसर पारेर सोमबार सेयर सदस्यलाई तालिम र झुल वितरण गरेको छ ।
सञ्चालक समितिका अध्यक्ष डिल्ली घोर्साईंको अध्यक्षतामा आयोजित कार्यक्रममा संस्थामा नवप्रवेशी ४५ जना सेयर सदस्यलाई सहकारी शिक्षा तालिम प्रदान गरिएको हो । तालिमको सहजीकरण झापा जिल्ला सहकारी संघका पूर्व सचिव युवराज ढकालले गरेका थिए ।
संस्थाकी व्यवस्थापक तुलसा कुँवरका अनुसार तालिमपछि आयोजित औपचारिक कार्यक्रममा संस्थामा आवद्ध अपांगता भएका २० जना सदस्यलाई झुल, कपडा प्रदान गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा जेसीज शनिश्चरेका अध्यक्ष भीमबहादुर कुँवरले उद्घाटन गरेका थिए ।
सोही कार्यक्रममा संस्थाले स्थापना गरेको ‘अपाङ्गता संरक्षण कोष’का लागि निर्मला रिमालले नगद पाँच हजार र कविता मगरले नगद तीन हजार सहयोग प्रदान गरेका थिए । संस्थाकी संस्थापक व्यवस्थापक समेत रहेकी मगरले यसअघि नगद पाँच हजार सहयोग प्रदान गरेकी थिइन् । उक्त कोषमा हालसम्म चार लाख ५७ हजार रुपैयाँ रहेको बताइएको छ ।
शेयर सदस्य केवल बाँनियाले कविता वाचन गरेको कार्यक्रममा नमूना सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष भानु श्रेष्ठ, कोषका दाता पदमबहादुर मगरलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । संस्थाका संस्थापक अध्यक्ष दीपेन्द्र काफ्लेले वार्षिकोत्सवको औचित्यमाथि प्रकाश पारेको उक्त कार्यक्रमको सञ्चालन व्यवस्थापक कुँवरले गरेकी थिइन् ।
यसैबीच, अर्जुनधारा जेसीज शनिश्चरेले संस्थामा आवद्ध सेयर सदस्यहरु र अपाङ्गता भएका व्यक्तिहरुका अभिभावकसँग संक्षित अन्तरक्रिया कार्यक्रम गरेको छ । संस्थामा भएका अपाङ्गता व्यक्तिको पहिचान, समस्या र समाधान गर्ने विषयमा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको जेसीजका अध्यक्ष कुँवरले जानकारी दिए ।
जेसीजले आगामी कार्यक्रम अपांगता भएका व्यक्ति लक्षित योजना तर्जुमा गर्ने काम भइरहेको पनि बताए । उनका अनुसार अपांगता भएका व्यक्तिको स्वास्थ्य सुधार, जीविकोपार्जन र रोजगारका विषयमा अन्तरक्रिया भएको थियो ।