पाँचथर । अदुवाले मूल्य नपाएपछि पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाका कृषक निराश बनेका छन् । भारतमै अदुवा उत्पादन हुन थालेपछि नेपालको अदुवा भारत निर्यात हुन नसक्दा कृषकहरु निराश बनेका हुन् ।
गतवर्ष ९ सय रुपैया प्रतिमनसम्म बिक्री भएको अदुवा अहिले मुख्य सिजनमा समेत प्रतिमन ५ सय रुपैयाँका दरले समेत बिक्री हुन नसकेको कृषक बताउँछन् । विगतका वर्षहरुमा अदुवा किन्न ब्यापारीहरु घर घरमा आउने गरे पनि यस वर्ष भने व्यापारी नआउँदा अदुवा बारीमै कुहिने अवस्थामा पुगेको छ ।
नेपालमा उत्पादन हुने अदुवा ९० प्रतिशत भारत निर्यात हुने गरेको राष्ट्रिय कृषक महासंघ पाँचथरका अध्यक्ष गणेश पोख्रेलले बताउनुभयो । पूर्वी पहाडी जिल्ला पाँचथर, इलाम, धनकुटा, तेह्रथुम, ताप्लेजुङलगायतका जिल्लामा अदुवा ब्यावसायिक रुपमा उत्पादन हुने गरेको छ ।
अघिल्लो आर्थिक वर्षमा मात्रै पाँचथरमा १९ करोड ५० लाख रुपैँया अदुवा निकासीबाट भित्रिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।