खेलकुद

देउमाई गोल्डकप : भेनस फिक्कल सेमिफाइनलमा

By admin

February 20, 2022

इलाम । देउमाई नगरपालिका ४ स्थित मंगलबारेमा जारी प्रथम देउमाई गोल्डकप फुटबल प्रतियोगितामा फिक्कलको भेनस एफसी सेमिफाइनलमा प्रवेश गरेको छ ।

 

स्पर्धी गुनमुने स्पोर्टिङ क्लबलाई ३-० गोलअन्तरले पराजित गर्दै भेनस सेमिफाइनलमा प्रवेश गरेको हो । भेनसका लागि तीनै गोल दोस्रो हाफमा सम्भव भएको थियो । पहिलो हाफमा दुवै टोलीले पाएको अवसर खेर फालेपछि गोलरहित बराबरीमा टुंगिएको थियो ।

 

दोस्रो हाफको १०औँ मिनेटमा भेनसका शेखर राईले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनैले ७ मिनेटपछि व्यक्तिगत दोस्रो गोल गरे । यसअघि १५औँ मिनेटमा सुसन कार्कीले गोल गरेका थिए । भेनसका शेखर म्यान अफ दी म्याच घाेषित भए ।

 

भानुभक्त माविको छात्रावास खेल मैदानमा आयोजित प्रतियोगितामा सोमबार आयोजक युनाइटेड युथ क्लब मंगलबारे र होलिबोथ एफसी बिब्ल्याँटे इलामबीच खेल हुनेछ । ८ टिम सहभागी प्रतियोगिताको विजेताले नगद १ लाख पाउनेछ भने उपविजेताले ५० हजारमा चित्त बुझाउनु पर्नेछ ।