इलाम । इलाम नगरपालिका ९ मा निर्माण भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा आजबाट यति एयरलाइन्सको तारा एयरले नियमित उडान शुरु गरेको छ ।
तारा एयरको ९ एन-एएलओले आजबाट उडान शुरु गरेको हो । पहिलो व्यावसायिक उडानमा केही यात्रुहरु र पर्यटन संस्थाका प्रमुखहरु आएका थिए । दिउँसो ११ बजे अवतरण भएको तारा एयर २ः२० मा फर्किएको थियो । तारा एयरले हप्तामा दुई पटक नियमित उडान गर्ने भएको छ । विहीबार र आइतबार नियमित उडान गर्ने तारा एयरले जनाएको छ ।
इलाम नगरपालिकाले प्रत्येक उडानका लागि ११ जना यात्रुको सुनिश्चिता गरे पनि तारा एयरले नियमित उडान शुरु गरेको हो । नगरपालिकाले यात्रुहरुको ग्यारेन्टीका लागि १० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । एकतर्फी टिकट काट्नेलाई अर्को तर्फको भाडा इलाम नगरपालिकाले गरिदिने भएको छ ।
नियमित उडान हेर्न र पहिलो उडानमा आएका यात्रुहरुलाई स्वागत गर्नका लागि ठूलो संख्यामा स्थानीयबासीको उपस्थिति रहेको थियो । माघ २६ गते परीक्षण उडान सफल भएपछि सरकारले फागुन १ गते विमानस्थलको उद्घाटन गरिएको थियो । नेपाल एयरलाइन्सको विमान चढेर आएका पूर्व प्रधानमन्त्री एवं इलाम क्षेत्र नं १ का सांसद झलनाथ खनाल र पर्यटन मन्त्री प्रेम आलेले विमानस्थल उद्घाटन गरेका थिए ।
उद्घाटन गरेको हप्तादिनभन्दा बढी समय वित्दा पनि सरकारले नियमित उडानमा चासो नदिएपनि इलाम नगरपालिकाले तारा एयरसँग संझौता गरेर नियमित उडान शुरु गरेको हो । विमानस्थलबाट नियमित उडान भए इलामको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गरिएको छ ।
फाल्गुनन्द सुकिलम्बा विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथरसहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरुलाई हवाई यात्राको लागि सहज हुनेछ । विमानस्थल बनाउन शुरु भएको दश वर्षमा मात्रै निर्माण पुरा भएको हो । २०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको थियो ।
विमानस्थल बनाउने प्रक्रिया थालेको दशवर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालियो । निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थल निर्माण पूरा भएको हो ।