समाज

झापाको दोमुखामा आगलागी हुँदा २ जना घाइते, ४ होटल नष्ट

By admin

February 25, 2022

झापा । झापाको पर्यकटीय क्षेत्र दोमुखामा भिषण आगलागी भएको छ । विहीबार राति करिब ११ बजेतिर भएको आगलागीमा परी दोमुखामा रहेका चार होटल र एउटा युवा क्लबको भवन जलेर नष्ट भएको हो ।

 

शिवसताक्षी नगरपालिका १० स्थित दोमुखामा सञ्चालित हरि भण्डारी, जय थपलिया, किशोर पुङ्थेवा र डम्बर मगरको होटल र एउटा युवा क्लबको भवनमा आगलागी भएको हो । आगलागीबाट ४ होटल र युवा क्लबको भवन जलेर पुर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

 

दमक, बिर्तामोड र कमल गाउँपालिकाको ३ वटा दमकल, प्रहरी र स्थानीयको सहायताबाट आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागी शुक्रबार बिहान १ बजेर ३५ मिनेटमा नियन्त्रणमा आएको थियो ।

 

सोही घटनामा परी २ जना घाइते भएका छन् । आगलागीमा परी हरि भण्डारीकी ४३ वर्षीया श्रीमती बालिका भण्डारी र १४ वर्षीया छोरी अस्मिता भण्डारी घाइते भएकी छन् ।

 

आमा बालिकाको दाहिने हात जलेको छ भने छोरी अस्मितको हात र अनुहार जलेर घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुवै जनाको बिर्तामोडस्थित बिर्ता सिटी हस्पिटलमा उपचार भइरहेको छ ।

 

आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।